जडीबुटीबाट नेपालको समृद्घि

देशको आर्थिक तथा सामाजिक विकासका लागि प्राकृतिक स्रोतहरूको उच्चतम र दिगो उपयोग आवश्यक रहेको हुन्छ । नेपालमा जल, जंगल, जडीबुटी, जमिन र जनसंख्याको खानी भए पनि सोको सदुपयोग तथा व्यवस्थापनको कमीले आशातीत रूपमा विकासको गति लिन नसकेको तीतो यथार्थ हामीसँग छर्लङ्गै छ । उल्लिखित सम्पदाहरूमध्ये वानस्पतिक स्रोत एक अमूल्य प्राकृतिक सम्पदाका रूपमा रहेको छ । नेपालले जैविक विविधताको धनी देशका रूपमा विशिष्ट पहिचान बोकेकाले यहाँका हिमाली क्षेत्र तथा पहाडी भागमा पाइने जडीबुटी तथा सुगन्धित तेलजन्य बिरुवाहरू महत्वपूर्ण रहेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश जनसंख्या परम्परागत उपचार विधिमा विश्वास गर्ने गरेको पाइएकाले पनि वानस्पतिक सम्पदाहरू दूर दराजमा बस्ने जनताको स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ । नेपालमा २ हजारभन्दा बढी बहुमूल्य जडीबुटीहरू र प्रशस्त मात्रामा सुगन्धित तेलजन्य वनस्पतिहरू रहेका छन्, जुन ग्रामीण जनताको स्वास्थ्यका साथसाथै उनीहरूको जीविकोपार्जनका लागि महत्वपूर्ण स्रोतका रूपमा रहँदै आएका छन् ।
प्राकृतिक स्रोत भएर मात्र हुँदैन, यसको दिगो उपयोग तथा आर्थिक सामाजिक समृद्घिमा परिचालन गर्नेतर्पm दीर्घकालीन सोचसहित व्यवस्थापकीय क्षमता आवश्यक हुन्छ । नेपालमा उच्च औषधीय गुण भएका असंख्य जडीबुटी हुँदाहँुदै पनि सोको समुचित उपयोग गरी यथेष्ट फाइदा लिन सकिएको छैन । हालसम्म पनि जडीबुटीहरू जंगली अवस्थाबाट संकलन गरी प्रयोग तथा बिक्री–वितरण गर्ने गरिएको छ, तर जुन रूपमा जडीबुटी खेतीको प्रयास तथा प्रविधि विकास हुनुपर्ने हो, सो हुन नसकेको कारणबाट परिमाणात्मक रूपमा यसको उत्पादन हुन सकेको छैन ।
जडीबुटी परम्परागत औषधीको स्रोत मात्र नभई यसले बृहत् आर्थिक तथा समाजिक प्रभाव पार्ने भएको हँुदा सरकारले प्राथमिकताका साथ रणनीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्नतर्फ आवश्यक व्यवस्था मिलाउन अत्यावश्यक छ । जडीबुटीलाई आर्थिक उपार्जनको माध्यमका रूपमा विकास तथा मानवजीवनको समृद्धिमा उपयोग गर्नका लागि सोको अध्ययन–अनुसन्धान तथा खेती प्रविधि विस्तार गरी उत्पादन बढाउनेतर्फ यथेष्ठ ध्यान दिनपर्छ । यसका लागि कृषकहरूलाई आवश्यक ज्ञान तथा प्रविधि हस्तान्तरण एवं बीउ–मलमा अनुदानको व्यवस्था गरी प्रोत्साहन गर्ने कार्यक्रम लागू गर्नुपर्छ । जडीबुटी खेतीका लागि विभिन्न पकेट क्षेत्र तोकी सोहीअनुरूपका कार्यक्रम विस्तार गर्न र उत्पादक, संकलन कर्ता तथा व्यापारीहरूबीच सञ्जाल विकास गरी बजार व्यवस्थापन गर्न सकिए जडीबुटीमा युवा आर्कषण गरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, साथै नेपालमा नै जडीबुटीबाट उत्पादित सामानको फर्मुलेसनको समेत काम गरी प्रशोधित तथा अर्धप्रशोधित उत्पादनतर्फ यथोचित ध्यान दिई सोको व्यवसायीकरण र बजारीकरण गरी जडीबुटी तथा सुगन्धित तेलबाट प्रचुर मात्रामा लाभ लिन अब ढिला गर्नु हँुदैन ।
नेपालको हिमाली क्षेत्रमा पाइने वनस्पतिमा औषधीय गुण अत्यधिक मात्रामा पाइने हुँदा जडीबुटी तथा सुगन्धित तेलको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो रूपमा रहेको छ । नेपालको वैदेशिक व्यापारघाटा डरलाग्दो रूपमा चुलिँदै गएको अवस्थामा जडीबुटीले अन्तर्राष्ट्रिय बजार पाउँदै जानु खुसीको कुरा हो । पछिल्लो समयमा नेपालका जडीबुटीको सारतत्व तथा सुगन्धित तेल अमेरिका, युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकमा निर्यातको बढ्दो क्रममा रहेको छ, जसले गर्दा वैदेशिक मुद्राको आर्जन हुने र व्यापारघाटा केही मात्रामा कम गर्न मद्दत पुगेको देखिन्छ । तथापि नेपालबाट जडीबुटीको कच्चापदार्थ सस्तो मूल्यमा विदेश निर्यात हुने तर नेपालले तिनै जडीबुटीबाट बनेका सामग्री पुनः महँगो मूल्यमा किन्ने अवस्थासमेत विद्यमान रहेको छ । नेपालले नै जडीबुटी तथा सुगन्धित तेलको मिश्रणबाट बनाइएका सामग्रीको उत्पादन गरी विश्व बजारमा पहुँच पु¥याउन सके नेपालमा साना तथा मझौला किसिमका उद्योग, कलकारखाना खुल्न गई रोजगारीको अवसरसमेत वृद्घि हुने हँुदा गरिबी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ ।
नेपालले सन् २००४ मा विश्व व्यापार संगठनको सदस्यता लिएपछि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धा बढ्दो क्रममा रहेको परिवेशमा हामीले गुणस्तरयुक्त सामानको उत्पादन गर्न तथा तुलनात्मक लाभका वस्तुहरूको पहिचान गरी आफ्नो स्थान सुनिश्चित गर्न अत्यावश्यक रहेको छ । नेपाल एकीकृत व्यापार रणनीति–२०१६ ले समेत जडीबुटी तथा सुगन्धित तेललाई तुलनात्मक लाभको वस्तुका रूपमा पहिचान गरेको परिवेशमा विदेशी निकासीमा रहेका व्यवधानहरू समाधान गर्दै सोको प्रवद्र्धनका लागि उचित कानुनी तथा संरचनागत व्यवस्था गर्नसमेत जरुरी छ ।
नेपाली उत्पादनले विश्व बजारमा खरो रूपमा प्रतिस्पर्धामा उत्रन नसक्नुमा नेपालका तर्फबाट उत्पादित वस्तु तथा सामानहरूको गुणस्तरमा सुनिश्चितता कायम हुन नसक्नु पनि प्रमुख कारण हो । यसका लागि उत्पादित सामानहरू गुणस्तरीय प्रयोगशालाबाट परीक्षण गरिएको हुनुपर्छ । तसर्थ विदेशी निकासी प्रवद्र्धनका लागि सरकारी एवं गैरसरकारी प्रयोगशालाको क्षमता अभिवृद्घि गरी अन्तर्राष्ट्रिय गुणस्तर (आईएसओ, एक सात शून्य दुई पाँच, २००) बमोजिम सेवा प्रवाह गर्न अत्यावश्यक हुन्छ । जडीबुटीको गुणस्तर प्रमाणीकरण तथा विद्यमान कानुनी व्यवस्थाबमोजिम वैज्ञानिक निकायका रूपमा अधिकार प्राप्त सरकारी निकायहरूले समेत प्रयोगशालाको सुदृढीकरणतर्पm यथेष्ट ध्यान दिई हालको अवस्थालाई अझ गुणस्तरीय तथा विश्वसनीय बनाई एवं आफ्ना परीक्षण तथा सिफारिसका कार्य अन्तर्राष्ट्रिय प्रावधानबमोजिम सम्पादन गरिएमा निर्यात कार्यमा सहजीकरण हुन जान्छ ।
नेपाल केन्द्रीय शासन प्रणालीबाट संघीय शासन प्रणालीमा प्रवेश गरेको परिपे्रक्ष्यमा देशमा भएका प्राकृतिक सम्पदाको सन्तुलित उपयोगबाट आर्थिक समृद्घि हासिल गर्नुपर्ने थप आवश्यकता छ । जडीबुटीको संरक्षण र दिगो उपयोगले वातावरणमा सन्तुलन कायम गरी आर्थिक समृद्घिको यात्रामा थप टेवा पुग्न सक्ने प्रचुर सम्भावना छ । जडीबुटी तथा सुगन्धित तेलहरूको उपयोग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको परिपे्रक्ष्यमा नेपालका जडीबुटीको औषधीय गुणको अध्ययन–अनुसन्धानमा व्यापकता दिई सोको उपयोगलाई अझ विस्तार गरी जनतामा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । नेपालको पश्चिमी क्षेत्र विशेष गरी कर्णाली भूभागमा भएका जडीबुटीको बजार सुनिश्चित गरी जनतालाई जडीबुटी खेतीमा आह्वान गरिएमा त्यस क्षेत्रको हालको गरिबी हटाउनमा उल्लेखनीय योगदान पुग्न सक्छ । जडीबुटीको संरक्षण, दिगो उपयोग तथा सो क्षेत्रमा गरिने लगानी तथा पूर्वाधारको विकासले नेपालको आय आर्जन वृद्धि भई देशको आर्थिक–सामाजिक रूपान्तरणसहित समृद्घिको यात्रातर्फ अग्रसरका लागि मद्दत पुग्ने कुरामा दुईमत छैन ।
(लेखक प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशालाका वरिष्ठ अनुसन्धान अधिकृत हुन् ।)
–देवीप्रसाद भण्डारी