शाओमी अझै भारतकै बढी बिक्री हुने स्मार्टफोन «

शाओमी अझै भारतकै बढी बिक्री हुने स्मार्टफोन

चिनियाँ प्रविधि कम्पनी शाओमी अझै पनि भारतकै सर्वाधिक बिक्री हुने स्मार्टफोन कायम भएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै शाओमीले आफ्नो मोबाइललाई बढी लोकप्रिय बनाउनका लागि भारतमा तीन नयाँ कारखाना खोल्न लागेको कम्पनीले घोषणा गरेको छ ।
फर्मले हाल भइरहेका प्लान्टबाट पावर बैंक मात्रै उत्पादन गर्दै आएको भए पनि यी प्लान्टबाट पनि स्मार्टफोनको उत्पादन सुरु गरेको छ ।
शाओमीले भारतमा पहिले नै दुईवटा स्मार्टफोन कारखाना सञ्चालन गर्दै आएको छ ।
तीन नयाँ प्लान्ट ताइवानी इलेक्ट्रोनिक्स फर्म फक्सकनको साझेदारीमा सञ्चालन गर्ने भएको छ । शाओमी र फक्सकनले दक्षिणी भारतीय राज्य तामिलनाडुमा सर्किट बोर्डको उत्पादनका लागि सहकार्य गर्ने बताइएको छ ।
शाओमी भारतमा २०१४ मा मात्रै प्रवेश गरेको हो । तर, विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारमा डिसेम्बरमा अन्त्य भएको त्रैमासमा शाओमीले सामसङलाई उछिनेको थियो ।
हाल शाओमीले भारतीय बजारमा २५ प्रतिशतभन्दा बढीको हिस्सा ओगटेको औद्योगिक अनुमान छ । कम्पनीको स्मार्टफोनको बिक्री २०१७ मा २ सय ५९ प्रतिशतको ठूलो अन्तरले वृद्धि भएको छ ।
शाओमीले भारतमा बिक्री हुने ९५ प्रतिशत फोन स्थानीय स्तरमै उत्पादन गर्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया कार्यक्रमको भरपुर फाइदा शाओमीले उठाएको छ । यो कार्यक्रमले विश्वका अन्य भागमा उत्पादन हुने फोनलाई भने प्रतिबन्धित गरेको छ । स्थानीय स्तरमै उत्पादन भएकाले शाओमीलाई आयात भन्सार लाग्दैन ।
एप्पलले गत वर्ष बैंगलोरको प्लान्टबाट केही आईफोनका मोडलहरूको उत्पादन सुरु गरेको थियो । तर, अझै पनि एप्पलका धेरैजसो स्मार्टफोन आयातीत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्