सन्धिखर्कमा खानेपानी समस्या

सदरमुकाम सन्धिखर्कमा खानेपानीको माग बढे पनि पानीको स्रोत नहँुदा पानी वितरणमा समस्या भएको छ । उपभोक्तासँग धारा जडानवापत लिइने २२ हजार ५ सय रुपैयाँ र मासिक शुल्कसमेत बढी भएको भन्दै उपभोक्ताले विरोध गरेका छन् ।
समितिले १० हजार लिटर खपत गरेवापत ३२०, १० हजारदेखि २० हजार लिटरसम्म प्रतियुनिट थप ३५ र २० हजारदेखि माथि प्रतियुनिट ४५ थप गरेको छ । सन्धिखर्कमा साना सहरी खानेपानी आयोजना सुरु गर्दा कुल आयोजनाको ४५ प्रतिशत रकम समितिले नगर विकाश कोषलाई ऋणको साँवा तथा व्याज भुक्तानी गर्नुपर्ने र मर्मत सम्भारमा खर्च हुने भएकाले मिति ०७३ कात्तिकदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको थियो ।
खानेपानी लिफ्टिङ गर्ने स्थान नजिकै घर निर्माण हुनु, निर्माण भएका शौचालयबाट निस्कने रसायनसमेत पानीको मुहानमा जाने गरेको छ । उक्त स्थानमा नगरपालिकालाई नक्सा पास नगर्न तथा सेफ्टी ट्यांकीमा पोनिङ गरेर नक्सा पास गर्न आग्रह गरे पनि नगरपालिकाले नसुनेको गुनासो अध्यक्ष दुर्गा श्रेष्ठको छ । “मैले पटकपटक नगरपालिकामा कुरा गरें तर सुनुवाइ भएन । पानी ट्यांकी नजिक घर बनेका छन् शौचालयमा भएको रसायन पानीमा मिसिन्छ ।”
जिल्लामा रहेको खानेपानी समस्यालाई समाधान गर्न सुक्खाग्रस्त क्षेत्र घोषणा गरी आयोजना सञ्चालन गर्नुपर्ने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको भनाइ छ । उनले भने, “पानीका मुहान सुक्दै गएका छन् । माग बढ्दो छ त्यसैले यसलाई दीर्घकालीन रूपमा समस्या समधान गर्नका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरी योजना भित्र्याउन लागि परेको छु ।”
प्रदेश सासंद रामजीप्रसाद घिमिरेले समितिको कोषलाई प्रयोग गरी पाइपलाइन बिछयाउनु पर्ने र नगरपालिकासँग समन्वय गरी पानीलाई सहज रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । भएको बजेटलाई सदुपयोग गर्नु पर्यो नपुग बजेट स्थानीय तहमा माग गर्नु पर्यो र प्रदेशबाट सक्दो पहल र सहयोग हुनेछ । पानीसँगै मानिसको दैनिकी सुरुवात हुने र पानी नै जीवन भएकाले यसको सहज व्यवस्थापन गर्नुपर्ने प्रदेश सासंद निर्मला क्षेत्रीले बताइन् । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले पानीको समस्या नहुने गरी काम गर्ने बताए ।