निःशुल्क भर्ना अभियान सुरु

जिल्ला शिक्षा कार्यालय डडेल्धुराले वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ डडेल्धुरामा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै बालबालिकालाई विद्यालय ल्याउन सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।
चार वर्ष उमेर पूरा भएका सबै बालबालिकालाई प्रारम्भिक बाल शिक्षा कक्षामा भर्ना गरौं भन्ने हेतुका साथ विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम सञ्चालन गरिन लागिएको हो ।
विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरूलाई विद्यालयमा ल्याउन र विद्यालयमा टिकाइराख्न भर्ना अभियान सञ्चालन गर्न लागेको विद्यालय निरीक्षक हेमन्तराज पन्तले बताए ।
वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान र पुस्तक वितरण कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिने जनाइएको छ । डडेल्धुरा जिल्लाका दुर्गम बस्तीमा जहिले पनि छ महिनापछि मात्र बल्ल तल्ल पाठ्पुस्तक पुग्ने भएता पनि नयाँ शैक्षिक सत्र २०७५ मा डडेल्धुरामा कक्षा १ देखि १० सम्मका हरेक पाठ्यपुस्तक समयमै उपलब्ध हुने जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताए ।
आगामी शैक्षिक सत्र २०७५ को सुरुमै ४ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित समूह मानी भर्ना अभियानलाई तीव्रता दिने तयारी गरेको छ । यसका लागि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा, अभिभावक शिक्षा अभियानजस्ता कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।