भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले बुधबार रथ तानेर गःहिटी पुराएका छन् ।
जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुराउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए ।
विगतका वर्षहरुमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुराउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुराएको उनको भनाइ छ ।
राति नै रथलाई गःहिटी पुराउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा रथको गजुर भाँचिएको छ । तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुराएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।
रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौं ।”
आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुराएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन ः गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।
यस्तो छ इतिहास
यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरू गरिएको यो जात्रा भक्तपुरवासीले नौ दिन आठ रातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको र विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् सर्प मारियो भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।
यो जात्राको किम्वदन्तीअनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी राजा बस्दथे । ती राजाका एक अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले आफ्नो सुन्दरी छोरीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने प्रस्ताव समेत राखेका थिए । राजगद्दी पाउने भएपछि ती राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए तर ती पुरूषहरू जसले राजकुमारीसँग बिहे गर्न राजी भएर पहिलो रात सुत्दथ्यो, ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पुराउने मलामी गुठी नै स्थापना गरेका थिए ।
यस्तैमा एक दिन त्यहाँ एक बलवान राजकुमार आएर राजकुमारीसँग आफू बिहे गर्ने इच्छा राजासँग प्रकट गरे । राजाले खुसीसाथ ती राजकुमारसँग आफ्नो बिहे गराई कोठामा सुत्न पठाए । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नाग–नागिनी निस्केर अजिंगरको रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए ।
ती नाग–नागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौं, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । भोलिपल्ट सधैझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतीलक गरिदिए ।
यसरी अजिंगरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको हो । नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिंगो भेलुखेलस्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ । यो लिंगो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जंगलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाले छोएकै रूखमा बोकाको बली चढाई सोही रूख काटी ल्याउने प्रचलन अहिलेसम्म चल्दै आएको छ ।
नेपाल सम्वत् २६८ तिर भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो जात्राको परम्परा सुरू भइसकेको बताइन्छ । लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुसीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको संस्कृतविद्हरु बताउँछन् ।
सुरूमा बिस्केट जात्रा लिंगो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन चलेको हो ।