कर्णालीमा पर्यटन प्रवद्र्धन «

कर्णालीमा पर्यटन प्रवद्र्धन

सन् १९५० को दशकदेखि नेपालमा पर्यटक आगमन सुरु भएकोमा अहिलेसम्म यहाँको पर्यटन सीमित क्षेत्रमा मात्र केन्द्रीकृत भएको छ । नेपालको पर्यटन भन्नेबित्तिकै सगरमाथासहितका केही प्रमुख हिमाल आरोहण, सगरमाथा आधार क्षेत्रसहित सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौं र वरपर, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा, अन्नपूर्ण संरक्षण क्षेत्र तथा लुम्बिनी गरी सात–आठ स्थानमा मात्र केन्द्रित भएको छ । मुस्ताङ, अपर डोल्पासहितका केही अन्य स्थानमा पर्यटनको आकर्षण नभएको भने होइन, तर लामो समयसम्म प्रतिबन्धित क्षेत्रका रूपमा रहेका ती स्थानमा निकै सानो संख्यामा विशिष्ट प्रकृतिका पर्यटक मात्र पुग्ने गरेका छन् । पर्यटकीय सम्भावनाका हिसाबले पूरै नेपाल एक विशिष्ट गन्तव्य भएको कुरा यहाँ आएर फर्केका थुप्रै पर्यटकले आफ्नो ट्राभल ब्लगमा उल्लेख गरेका छन् । नेपालमा रहेका उच्च हिमश्रृङ्खलादेखि यहाँको फरक–फरक भौगोलिक विविधता मात्र होइन, सांस्कृतिक र सामाजिक विविधता, संस्कृति र सम्पदा सबै नै पर्यटकीय उत्पादन हुन्, हामीले तिनको बजारीकरण मात्र गर्न नजानेको हो । नेपालको पर्यटक हिमाल आरोहणबाट सुरु भएकाले हिमाल आरोहण र साहसिक पदयात्रालाई मात्र हामीले मुख्य पर्यटकीय उत्पादन मानेर बजारीकरण गर्दै आयौं । त्यसबाहेक निकुञ्जमा आधारित वन–पर्यटनलाई मात्र पर्यटकीय उत्पादन मानिँदा सम्भावना भएर पनि अन्य क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको हो । अलिअलि पर्यटकको आकर्षण भएका क्षेत्र पनि प्रतिबन्ध र अन्य कारणले प्रवद्र्धन नै हुन सकेनन् । साँच्चै भन्ने हो भने पर्यटन प्रवद्र्धनका लागि एकीकृत प्रयास नै हुन सकेनन् । सरकार र निजी क्षेत्रबीच उपयुक्त समन्वय नभएकै कारण यहाँको पर्यटनले गति लिन नसकेको हो ।
आफ्नो मुख्य पर्यटकीय उत्पादन नै नभएका विश्वका थुप्रै मुलुकले कृत्रिम वा मानवनिर्मित पर्यटकीय उत्पादन सिर्जना गरेर त लाखौंको संख्यामा पर्यटक आकर्षण गर्दै आएका छन् भने नेपालले थोरै प्रयास गर्ने हो भने आफूसँग भएका असीमित सम्भावनाबाट ठूलो लाभ आर्जन गर्न सक्छ । यसका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकार, पर्यटन व्यवसायी र सम्बद्ध क्षेत्रका समुदायबीच सहकार्य भने हुन जरुरी छ । पर्यटकीय बजार सम्भावनाकै विकास नगरी लहडका भरमा स्थापना गरिएका होमस्टेहरूको विफलताको कथाबाट पाठ सिकेर पहिला उत्पादन विकास, त्यसपछि बजारीकरणको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।
क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक कर्णाली प्रदेशले रारा–कर्णाली पर्यटन वर्षको मनाउने तयारी गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालमा उद्घाटन गरेर वर्ष २०७५ लाई रारा–कर्णाली पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिएको छ । ‘कर्णाली समृद्धिको आधार : पर्यटनको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ कर्णाली पर्यटन वर्ष मनाउने तयारी गरिँदै गर्दा आवश्यक पर्यटकीय पूर्वाधार अहिलेसम्म नबन्नुले यसका लक्षित उपलब्धि हासिल नहुने हुन् कि भन्ने आशंका उत्पन्न गरेको छ । पहिला पर्यटन वर्ष मनाइहालौं, अनि पूर्वाधार बन्दै गर्छ भन्ने सोच हो भने यसले प्रतिफल उल्टो पनि दिन सक्छ । यसर्थ रारा–कर्णाली पर्यटन वर्षको आरम्भका साथसाथै स्थानीय स्तरमा सम्भव भएसम्म पूर्वाधारहरूको तत्कालै निर्माण थालिहाल्ने र प्रादेशिक तथा संघीय सरकारसँगको समन्वयमा आउँदो आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ कर्णालीमा पर्यटन विकासका योजना अघि सार्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्