‘दिगो विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण’

विश्वमा गरिबी निवारण र दिगो विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । सदस्य केन्द्रित र समुदायमा आधारित हुने बिजनेस मोडल भएकाले सहकारीमार्फत तल्लो तहमा पुगेर काम गर्न सकिने र यसबाट छिटो तथा प्रत्यक्ष प्रभाव पार्न सकिनेमा एकमत भएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को क्वालालम्पुर मलेसियामा भइरहेको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन तथा साधारणसभामा सहभागी विश्वका अर्थशास्त्री र सहकारीकर्मीले सहकारी मोडलको अर्थतन्त्र विकासमा जोड दिए ।
सम्मेलनको मुख्य वक्ता अर्थशात्री लिन्दा युचले गरिबी निवारण र दिगो विकासका लागि सहकारी उपयुक्त मोडल भएकोमा जोड दिइन् । सहकारीमा जनसहभागिता हुने र यो उत्कृष्ट मोडल बन्ने उनको दाबी थियो । सहकारी संस्थाले समुदाय बुझेको हुनाले उनीहरूको आवश्यक्ताअनुसार काम गर्न सक्ने उनको भनाइ थियो । विश्वमा अझै ७६७ मिलियन मानिस गरिब रहेको र यसलाई कम गर्न सहकारीले मात्र सक्ने अर्थशास्त्री लिन्दाको दाबी थियो ।
यसैगरी नर्वेका पूर्वप्रधानमन्त्री ग्रो हर्लेम ब्रन्डल्यान्डले संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकास लक्ष्य पूरा गर्न सहकारी क्षेत्र ‘मुख्य शक्ति’ बन्ने दाबी गरे । उनले गरिबी निवारण, आधारभूत सेवा तथा खाद्यान्नको परिपूर्तिका साथै वातावरण संरक्षण र खाद्य सम्प्रभुताका लागि समेत काम गर्नसक्ने उल्लेख गरे ।
सम्मेलनअन्तर्गत सहकारी र दिगो विकासबारे विभिन्न छलफल भएका थिए । जसअन्तर्गत सहकारीको मोडको भविश्य, सदस्य केन्द्रित सेवा, हाउजिङ सहकारी, सहकारीबीच नेटवर्किङ, सहकारीमा आधुनिक प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएका छन् ।
सम्मेलनमा सार्वजनिक गरिएको तथ्यांक अनुसार विश्वका उत्कृष्ट ३ सय सहकारीले मात्र २० खर्ब १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक कारोबार गरेका छन् । हाल विश्वका १ सयभन्दा बढी देशमा १ अर्ब भन्दा बढी सहकारीका सदस्य छन् । विश्वमा बढेको सहकारी महत्वलाई बोध गर्दै संयुक्त राष्ट्रसंघको घोषणामा सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाइएको थियो ।
सम्मेलनमा नेपालको तर्फबाट आईसीएको सदस्यका रूपमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी वैंक, केन्द्रीय कृषि सहकारी संघ तथा नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका साथै एसोसिएट मेम्बरका राष्ट्रिय सहकारी विकास बोर्डलगायतका संस्थाहरूबाट प्रतिनिधित्व छ ।
सम्मेलनमा सहभागी महासंघका अध्यक्ष केशव बडाल नेपालजस्तो देशमा सहकारीको भूमिका अझै महत्वपूर्ण हुने बताउँछन् । गरिबी निवारण, महिला तथा पिछडिएका वर्गको उत्थान र आर्थिक विकासमा नेपालको सहकारीले राम्रो काम गरिरहेको र यसको नतिजा विस्तारै देखिने उनको भनाइ छ ।
सञ्चालकमा नेपालको उम्मेदवारी
यसैबीच आइसीएको बोर्ड सदस्यमा नेपालले उम्मेदवारी दिएको छ । नेपालको तर्फबाट राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्लले उम्मेदवारी दिएकी हुन् ।
मलेसियामा भइरहेको साधारणसभा अन्तर्गत शुक्रबार निर्वाचनको कार्यक्रम तोकिएको छ । निर्वाचनबाट विश्व सहकारी अभियानमा नेतृत्वका लागि अध्यक्षसहित १९ सदस्यीय सञ्चालक समिति निर्वाचित गर्नेछ । अध्यक्षका लागि अर्जेन्टिना र फिजीबाट २ जनाको दावेदारी छ भने बोर्ड सदस्यमा विभिन्न देशमा तीन दर्जन चुनावी मैदानमा छन् ।
सम्मेलनका लागि विश्वभरका १ हजार ८०० भन्दा बढी सहकारीकर्मी मलेसियामा जम्मा भएका छन् । नेपालबाट कार्यक्रममा महासंघका अध्यक्ष बडालका साथै उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठकलगायतको सहभागिता छ ।
सम्मेलनमा नेपालको तर्फबाट सदस्य रहेका संघसंस्थाको २३ भोट रहेको महासंघका अध्यक्ष बडालले जानकारी दिए । तर, आईसीएको बोर्डमा युरोप तथा अमेरिकी राष्ट्रको दबदबा हुने भएकाले नेपाललाई चुनौती रहेको उनले बताए ।