यसरी गरौं छालाको स्याहार «

यसरी गरौं छालाको स्याहार

हामीमध्ये धेरैले छालाको स्याहार भन्नाले विशेषतः अनुहारमा बढी ध्यान दिइरहेका हुन्छांै । अझ पुरुषभन्दा महिलाले अनुहारमा बढी ध्यान दिइरहेका हुन्छन् ।
मुख धुने काम भनेको निकै सजिलो काम मानिन्छ तर अनुहारको सबैतिर ध्यान पुराउन सकिएन भने यसले डण्डीफोर आउने, छाला चिलाउने, फुस्रो हुने आदिजस्ता समस्याहरू ननिम्त्याउला भन्न सकिँदैन ।
डण्डीफोर भनेको यस्तो समस्या हो, जुन हाम्रो प्रतीरक्षा शक्तिको कारणले पैदा हुने गर्दछ । छालामा भएका सुक्ष्म प्वालहरूमा विभिन्न किसिमका फोहोर अनि ब्याक्टेरियाहरू टालिएर बसेका हुन्छन् । जसले गर्दा संक्रमण हुन थाल्छ । त्यसपछि हाम्रो प्रतीरक्षा प्रणालीको सेतो रक्तकोषले ती सबै संक्रमित कोषहरूलाई एकै ठाउँमा जम्मा गरेर डण्डिफोरको रुपमा बाहिर पठाउने काम गर्दछ । त्यसैले हामीले मुख धुँदा विचार पुराएनौ भने यो समस्या झन् बढ्दै जान्छ ।
त्यसैले हामीले मुख धुँदा धेरै कुरामा ध्यान नदिँदा यसले पनि छालाजन्य विभिन्न रोगहरू निम्त्याइरहेको हुन्छ । यतिमात्र नभई हामीले बजारमा आएका विभिन्न क्रिम वा मेकअपको सामान आफ्नो छालासँग सुहाउँदो किसिमको प्रयोग नगर्दा पनि यस्ता समस्याहरू बढी नै देख्ने गरेको पाइन्छ ।
हामीमध्ये धेरैले छालाको स्याहार गर्न भन्दैमा अनुहारमा फोहोर हातले छोइरहने बानी पनि हुन्छ । यसले नङमा भएको संक्रमणहरूलाई छालासम्म पुराएर विभिन्न छालासम्बन्धी रोगहरू पैदा गरिरहेको हुन्छ । राति सुत्दा हाम्रो हत्केलामा अनेकौं प्रकारका किटाणु टाँसिएको हुन्छ र दिउँसोभरि यताउता काम गरिरहँदा पनि किटाणु हातमा लागेको हुन्छ । जब हामी हात धुुनुपूर्व नै हामी मुखमा हात राख्छौं, यसो गर्दा हत्केलामा टाँसिएका फोहोर र ब्याक्टेरिया अनुहारमा सर्दछ र यसले छालाजन्य समस्या उत्पन्न गराउँछ ।
यसको समाधान गर्न हामीले मुख धुनुपूर्व नै हात सफासँग धुने अनि त्यस पश्चातमात्र अनुहार सफा गर्नतर्फ ध्यान दिनुपर्छ ।

साबुनको अत्यधिक प्रयोग
बिहान उठ्नेबित्तिकै वा बेलुका सुत्नुअघि प्रायः साबुनले मुख धुने बानि धेरैको रहेको हुन्छ । जथाभावी रुपमा साबुन प्रयोग गर्नु त्यति उचित मानिँदैन । किनभने सबै साबुन एकै किसिमको हँुदैन । अधिकांश साबुनमा हाम्रो छालालाई हानी गर्ने खालका रसायनहरू मिसाइएका हुन्छन् ।
जसले गर्दा छालामा एलर्जी हुने, चिलाउने, फुसा्रे हुने जस्ता समस्याहरू देखा पर्दछ । सफा पानीले मात्र मुख धुनु नै उचित मानिन्छ । यसको समाधानको लागि हामीले मुख धुँदा सफा पानीले धुनु उचित हुन्छ । यदि साबुन प्रयोग गनुप¥र्या भने एण्टिब्याक्टेरियल साबुनको मात्रै प्रयोग गनुपर्दछ ।

छाला सुहाउँदो क्रिमको प्रयोग
बजारमा विभिन्न किसिमका क्रिमहरू आउने गर्दछ । विज्ञापनको आधारमा क्रिमहरूको प्रयोग गर्दा पनि छाला सम्बन्धि विभिन्न किसिमका समस्याहरू आउने गर्दछ । यसका साथै छाला सुहाउँदो र वातावरण सुहाउँदो क्रिम भएन भने अझ छालामा विभिन्न किसिमका समस्याहरू आउने गर्दछ । यसका समाधानको लागि आफ्नो छाला सुहाउँदाँ किसिमको क्रिमको प्रयोग गर्नुपर्छ । छालासम्बन्धि समस्या छ भने छाला सम्बन्धि विशेषज्ञसगँको परामर्श लिनु नै उचित हुन्छ ।

फोहोर रुमालको प्रयोग
सफा पानीले मुख धोएर मात्र भन्दा पनि हँुदैन । हामीले मुख पुछ्न सफा कपडा एवं तौलियाको पनि प्रयोग गनुपर्दछ । तर कतिपयले यस कुरामा त्यति ध्यान दिइएको पाइँदैन । यसमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । हामीले हतारमा फोहोर कपडा वा तौलियाले मुख सफा गर्दा यसले पनि छालाजन्य रोगहरू निम्त्याउन सक्दछ ।
यसको सामाधानको लागि सफा रुमालले हलुकासँग अनुहार नरगडी पुछ्नुपर्छ । अनुहार भनेको तपाईको सुन्दरता अनि व्यक्तित्वको पहिचान पनि भएको हुनाले यसलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।

फलफूल खानु आवश्यक
हामीमध्ये छालालाई विशेष ध्यान दिनको लागि क्रिम, फेसवास, फेस क्लिनजिङ, स्क्रबहरूको प्रयोग गरेर छालालाई बाहिरी रुपमा मात्र स्याहार गरेर हँुदैन, यसका लागि भित्रि रुपमा छालामा सहज रक्तसञ्चार पनि हुन आवश्यक हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी र स्याउ, एभोकाडो, किवी, मेवाजस्ता फलफूल खानु स्वास्थ्य छालाको लागि जरुरी छ ।

डा. विक्रान्त ढकाल
छाला रोग विशेषज्ञ

गर्मी महिनामा छालासम्बन्धि रोगबाट बच्न कुन–कुन कुरामा विशेष ध्यान दिनुपर्छ ?
गर्मी महिनामा विशेष गरेर अल्ट्रा भाइरस रोगको किरण बढी भएको हुनाले यसबाट बच्न ३० भन्दा बढीको एसपिएफ भन्दा बढीको क्रिमको प्रयोग गनु उपयुक्त हुने देखिन्छ । विशेषगरी दिउँसो १० देखि ४ बजेसम्मको घामले छालालाई असर गर्न भएकाले यसलाई बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।

कस्तो किसिमको समस्याले गर्दा छालासम्बन्धि रोग बढी देखिन जान्छ ?
विशेषगरी हामी नेपालीहरू बजारमा आएको जुनसुकै क्रिमहरू पनि छालालाई सुहाउँछ वा सुहाउँदैन, ध्यान दिँदैनौ । यसले छालासम्बन्धि विभिन्न किसिमका रोगहरू निम्त्याइरहेको हुन्छ । आफ्नो छालामा कस्तो किसिमको क्रिम सुट गर्छ भन्ने कुरामा ध्यान नदिनाले पनि यस्तो समस्याहरू बढी देखिन्छ ।

छालालाई विशेष ध्यान दिनको लागि कुन–कुन कुरामा बढी ध्यान दिनुपर्ला ?
सकेसम्म हामीले छालासँग सम्बन्धित विशेषज्ञसँग सल्लाह लिएर नै क्रिमहरू प्रयोग गर्दा उपयुक्त हुने देखिन्छ । यदि यो सम्भव हुँदैन भने हामीले आफ्नो स्किनअनुसार क्रिमको प्रयोग गर्नु उपयुक्त देखिन्छ ।

छालासम्बन्धि रोगबाट बच्न खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ ?
सन्तुलित भोजनका वा सागसब्जी, फलफूल, प्रशस्त मात्रामा पानी पिउनाले पनि यस्ता रोगबाट बच्न यस्ता खानेकुरामा पनि ध्यान दिन जरुरी देखिन्छ ।

-रिना खत्री

 

प्रतिक्रिया दिनुहोस्