कला–संस्कृति संरक्षणमा महोत्सव प्रभावकारी «

कला–संस्कृति संरक्षणमा महोत्सव प्रभावकारी

यही चैत २१ देखि २८ गतेसम्म अछामको रामारोशनमा सञ्चालन भएको रामारोशन पर्यटन तथा सांस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । पर्यटन क्षेत्र रामारोशनको प्रचारप्रसार र स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यसहित सञ्चालित महोत्सवमा यहाँको स्थानीय कला–संस्कृतिले धेरै ठाउँ पाएको हो ।
प्रायः मेला महोत्सवहरुमा विभिन्न कलाकारहरुका सांगीतिक प्रस्तुतिसँगै आधुनिक र नयाँ खालका मनोरञ्जनका माध्यमको प्रयोग हुने गरेको भए पनि रामारोशन पर्यटन तथा सांस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिलाई विशेष स्थान दिएर यहाँको कला–संस्कृति संरक्षणमा प्रभावकारी भूमिका निभाएको छ । महोत्सवमा केही राष्ट्रिय कलाकारहरुका प्रस्तुति र स्थानीय कलाकारको प्रतिभा पहिचान गराइएको भए पनि बढीभन्दा बढी स्थानीय सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष जनक साउदले जानकारी दिए ।
स्थानीय देउडा, न्याँउले, पुतला, भुवो नाच, चाँचणी नाच, मयुर नाच, तरबार नाच, चाली खेल, हुणकेउली, पणछोजस्ता ऐतिहासिक स्थानीय सा्रस्कृतिक झाँकीहरु हरेक दिन प्रदर्शन भएको थियो ।
प्राचिन जुम्लाको सिंजा राज्यबाट विकसित उल्लेखित कला संस्कृतिहरुमा पछिल्लो पुस्ताका युवाले चासो नदेखाएको र यो संस्कार तथा संस्कृति लोप हुने अवस्थामा रहेका बेला महोत्सवमार्फत संरक्षण र प्रबद्र्धनका लागि पहल भइरहेको रामारोशन पर्यटन तथा सांस्कृतिक महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष विरेन्द्र शाहले बताए ।
युवाहरुको विशेष पहलमा सञ्चालन भएको महोत्सवमार्फत पर्यटकीय क्षेत्र रामारोशनको प्रचारप्रसार र विकासमा समेत टेवा पुगेको स्थानीय चन्द्र भण्डारीले बताए । युवामा ऐतिहासिक र पौराणिक कला संस्कृतिप्रतिको चासो घट्दै गइरहेका बेला महोत्सवले निकै सकारात्मक पहल गरेको उनको भनाइ छ ।
जिल्लाका अन्य स्थानीय तहभन्दा रामारोशन गाउँपालिका ऐतिहासिक संस्कार र संस्कृति जोगाइराख्नेमा अगाडि रहेको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए । गाउँपालिकाका सबै सातवटै वडामा ऐतिहासिक देउडा खेल खेल्ने प्रचलनदेखि अन्य लोपोन्मुख कला संस्कृतिको अवस्था अझै पनि प्रख्यात रहेको अध्यक्ष साउदको भनाइ छ ।
रामारोशन क्षेत्रको पर्यटकीय सुन्दरतासँगै स्थानीय कला संस्कृतिको प्रचारप्रसार र संरक्षणमा सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावलले बताए । रामारोशनको पर्यटनसँगै कला संस्कृतिसमेत देशमै नमुना र उदाहरणिय रहेको भन्दै संरक्षण र प्रचारप्रसारमा लाग्न स्थानीयलाई अनुरोध समेत गरे ।
होम साउद

प्रतिक्रिया दिनुहोस्