४० करोड लागतमा, एभिन्यु होटल बुटवलमा «

४० करोड लागतमा, एभिन्यु होटल बुटवलमा

प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पर्यटकीय सुविधा सहितको होटल एभिन्यु सञ्चालनमा आएको छ ।
बुटवल उपमहानगरपालिका–३ पाल्पा रोडस्थित गोलपार्क क्षेत्रमा निर्माण सम्पन भई सञ्चालनमा आएको होटलको लगानी ५० करोड रुपैयाँ रहेको अध्यक्ष भीमलाल न्यौपानेले बताए ।
मंगलबार होटल निर्माण, यहाँ प्रदान हुने सेवा सुविधाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले पश्चिम नेपालकै महत्वपूर्ण व्यापारिक केन्द्र, नजिकै बुद्धजन्मस्थल लुम्बिनी, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका कारण यहाँ स्तरीय पर्यटक होटलको आवश्यकता महसुस गर्दै यो होटलको निर्माण गरी सञ्चालनमा ल्याएको जनाए ।
होटलमा ४५ वटा लक्जरीयस रुम छन् । सबै रुमहरु बातानुकूलित(एसी जडान) छन् । बुटवल सहरको दृश्य देखिने बालकनी सहीतको कोठाहरु होटलमा छन् भने बिजनेस स्वीट रुम, एभिन्यु स्वीट रुम, हनिमुन स्वीट रुम, सुपेरियरदेखि डिलक्स, सुपर डिलक्स, कर्पोरेट डिलक्स रूप होटलमा रहेको अध्यक्ष न्यौपानेले जनाए । होटलमा ७ सय जनासम्मको सभा सम्मेलन गर्न मिल्ने ४ वटा हल तथा एभिन्यु भ्यूसहित बुटवल सहर र उत्तरतर्फको पहाडी दृश्यावलोकन गर्दै इन्डियन, चाइनिज, थाई, कन्टिनेन्टल स्वाद पस्कने ३ वटा रेस्टुराँसमेत रहेको होटलकी सञ्चालिका सरस्वती न्यौपानेले बताइन् ।
सञ्चालिका न्यौपानेका अनुसार होटलमा २ सयवटासम्म साना गाडीहरु पार्किङ गर्न सक्ने सुबिधा उपलब्ध छ । निकट भविष्यमा होटलमा पौडिपोखरी, ट्राभल एन्ड टुरिजम, कफी सप, जिम क्लब, स्पा तथा हेल्थ क्लबसमेत सञ्चालनमा ल्याउने योजना रहेको होटल व्यवस्थापनले जनाएको छ । पछिल्लो समय बुटवल, भैरहवा, मणिग्राम, बेलहिया र लुम्बिनी क्षेत्रमा होटल उद्योगमा लगानी गर्ने क्रम बढेको सिद्धार्थ होटल एसोसिएसन सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्