मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर «

मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर

अछाम-अछामको मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यो गाउँपालिकाका सबैजसो वडाका किसान पशुपालनका हिसावले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करिब आत्मनिर्भर देखिएको हो ।
मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैंसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्द जस्तै रहेको बताइएको छ । जिल्लाका १० वटै स्थानीय तहमध्ये पशुपालनका लागि भूगोल, र वातावरणीय रूपमा सन्तुलित र बाख्रापालनका दृष्टिकोणले निकै उपयुक्त क्षेत्र भएका कारण मेल्लेख गाउँपालिका क्षेत्रभित्रका किसान पशुपालन गरेर आत्मनिर्भरसमेत भएका गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताए ।
गाउँपालिकाको पशुसेवा शाखाका अनुसार ८ वटै वडामा प्रत्येक वडाका कृषकसँग ३ हजार बढी बाख्रा छन् । वडा नम्बर १ र २ ऋषिदहमा भेडापालनसमेत भइरहेको छ । गाउँपालिकाभर ३० हजारको हाराहारीमा बाख्रापालन भइरहेको छ भने दुधजन्य उत्पादनका लागि पालिने पशुवस्तुको समेत राम्रो सम्भावना रहेको रोकायाको भनाई छ ।
निर्यात पर्याप्त मात्रामा नगरे पनि गाउँपालिकामा मासुका लागि पशुपन्छी आयात नै गर्नुपर्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । गाउँपालिकाले एक गाउँ एक उत्पादन नीति लिएर पशुपालनलाई पनि उच्च महत्व दिएर काम कार्य अघि बढाइरहेको उनले बताए । गाउँपालिका, पशुसेवा कार्यालय र शाखामार्फत बिभिन्न अनुदान सहयोग र आवश्यक प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिएपछि किसानलाई पशुपालनका लागि निकै सहज भएको बताइएको छ ।
यस वर्ष पनि गाउँपालिकाबाट पशुसेवातर्फ झन्डै २० लाख रुपैयाँ बिनियोजन गरी आवश्यक प्रचार प्रसार, घाँस विकास, औषधि खरिद र किसानलाई अनुदान सहयोगलगायतका कार्यक्रम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

होम साउद

प्रतिक्रिया दिनुहोस्