खसीबोकाले बजार नपाउँदा किसान निराश «

खसीबोकाले बजार नपाउँदा किसान निराश

म्याग्दी-खसीबोकाले बजार नपाउँदा म्याग्दीको दुर्गम क्षेत्रका किसान निराश भएका छन् । धौलागिरि गाउँपालिकाको लुलाङ, मुदी, गुर्जा, मुना, मल्कवाङका कृषकहरूले खसीबोका बिक्रीका लागि बजार र उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।
सस्तोमा खसीबोका र बाख्रा बिक्री गर्नुपर्दा दुःख अनुसारको आम्दानी हुन नसकेको कृषकको गुनासो छ । रोग, आन्तरिक तथा बाह्य परजिवी र चितुवा, भालुलगायत जंगली जनावरबाट जोगाएर बडो दुःखका साथ हुर्काएका खसीबोका न्यून मूल्यमा बिक्री गर्नुपर्दा ज्यालासमेत उठाउन समस्या भएको धौलागिरि गाउँपालिका–२ लमसुङका कृषक दलबहादुर पुनले बताए ।
२०४८ सालदेखि स्थानीय खरी जातका बाख्रा पाल्दै आएका पुन र उनकी श्रीमती हरिमायाले बोइलर, कोइलर र लेयर्स जातका कुखुरा गाउँगाउँमा पुग्न थालेपछि पूजाआजा र चाडपर्व बाहेकको अवस्थामा गाउँघरमा खसीबोका बिक्री नहुने अवस्था आएको बताए ।
५० वटा बाख्रापालेका पुन दम्पत्तीले अपेक्षाकृत आम्दानी हुन छाडेकाले बाख्रा गोठ बिक्री गर्ने सोचमा भएको बताए । एक वर्षसम्म पालेर १५ किलोसम्मको बनाएका खसीबोकालाई १० हजार रुपैयाँसम्म मूल्य पार्नसमेत धौ–धौ भएको उनको गुनासो छ । सो क्षेत्रका कृषकहरूले परम्परागत रुपमा फिरन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका छन् ।
उनीहरूको भेडापालन जिविकोपार्जनमा सिमित बनेको छ । व्यावसायिक ज्ञान सिप, प्राविधिक र आधुनिक बाख्रापालनसम्बन्धी तालिम र बजार अभावका कारण हिउँदमा बेसीका फाँट र बर्खामा लेकका बुकीमा पुग्ने कृषक आम्दानीको अवसरबाट बञ्चित भएका छन् ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्