च्याउखेतीमा १० हजार लगानीबाट १२ लाख आम्दानी

गुल्मी- गुल्मीमा १० हजार लगानीबाट च्याउ खेती सुरु गरेका एक कृषकले अहिले मासिक १ लाख आम्दानी गर्दै आएका छन् । गुल्मीको रेसुँगा नगरपालिका १ तम्घास बसपार्कमा बसोवास गर्दै आएका व्यवसायी भेकराज पाण्डेले मासिक १ लाखका दरले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका हुन् ।
“२०६१ सालमा नगद दश हजार लगानीबाट च्याउ खेती सुरु गरेको थिएँ, अहिले राम्रो आम्दानी भइरहेको छ” पाण्डेले भने । आफ्नै पाखुरा लगाएर गरेको व्यवसायले अहिले उनलाइ च्याउले आम्दानी मात्र दिएको छैन, ब्यासाय गुल्मी जिल्ला कै नमुना बन्दा सुन्तुष्टि र आनन्द पनि दिएको छ ।
“तम्घासको खालाचौरमा करिब पाँच रोपनी जग्गा भाडा लिएर टनेल बनाइ खेती सुरु गरेँ” पाण्डेले भने “मेरो उत्पादन गुल्मी लगायत छिमेकी जिल्लाहरू बागलुङ्ग र अर्घाखाँचीमा पनि जानेको गरेको छ” । उनले पाँच रोपनि जग्गाको लागि बार्षिक ५० हजार भाडा मात्रै तिर्ने गरेका छन् ।
व्यवसायबाट भेकराजले आफ्नो लागि मात्र आम्दानी गरेका छैनन्, ६ जनालाई रोजगारी पनि दिएका छन् । व्यवसाय सञ्चालनको लागि भेकराजले बुटवल बाट च्याउको बीउ ल्याउने गरेका छन् । “यसका लागि आवश्यक पर्ने पराल पहिला त गाउँघरमै पाईन्थ्यो तर अहिले तराईबाटै ल्याउँछौं,” पाण्डेले भने “बीउसँगै आवश्यक पर्ने अन्य सामग्रीहरू लिन भने काठमाण्डौ पुग्नुपर्दछ ।”
च्याउ पूर्ण रुपमा तयार भइसकेपछि कर्मचारीले किलो किलो बनाएर प्याकिङ गर्छन् र पसलमा छाडिदिने गर्दछन् । भेकराजका छोरा मनोज पाण्डे काम अलि झन्झटिलो भएपनि यसमै रमाइलो मानेर गर्ने गरेको अनुभव सुनाए । “आफ्नै गाउँ ठाउँमा बसेर व्यवसाय गर्दा खुशीको सीमा नै छैन,” पाण्डेले भने “अझ रोजगारी नपाएकाहरूलाइ रोजगार समेत प्रदान गर्न पाउँदा गर्व पनि लाग्ने रहेछ” ।
वर्षाका तीन महिना जेठ, असार र साउनबाहेक यो खेती ९ महिना गर्न सकिन्छ । च्याउ पूर्ण तयार हुने समय सम्मका खर्च जोड्दा उहाँको करिब ६ लाख भेट्ने गरेको छ भने सोही अनुपातमा आम्दानी भइ बचत पनि हुने गरेको छ । “विदेशमा गएर अरुको गुलाम बन्नु भन्दा सानै आम्दानी हुन्छ भने पनि स्वदेशमै केही गर्नु उत्तम हो,” भेकराजले भने, “स्वदेशमा आफ्नो छुट्टै शानका साथ आम्दानी गर्न सकिन्छ” ।
च्याउ खेती गर्दा पराल लाई पानीले पखाली सानो सानो टुक्रा बनाइन्छ र यसलाई पानीमा करिब तिन घन्टा पकाईन्छ । त्यसपछि मात्र परालका ससाना टुक्राहरूलाइ पलास्टिकमा हावा छिर्ने स–साना प्वाल बनाएर बिउ राख्ने विधि रहेको पाण्डेले जानकारी दिए । यसरी पोको पारीएको पराल लाई बिउ छरेको २२ दिन पुगेपछि कागज बाहिर निकालिन्छ अनि बिस्तारै च्याउ उम्रिन थाल्छ र ४५ दिनमा च्याउ तयार हुन्छ ।
“पहिला पराल काट्दा धेरै कामदार लाग्ने भएकाले बढी पैसा खर्च गर्न बाध्य थिएँ, गत बर्ष भने पराल काट्ने मेसिन किनेर ल्याएँ, अहिले सजिलो र कम खर्चिलो भएको छ”। ७ जनाको उनको परिवार प्राय व्यवसाय मै व्यस्त हुन्छन । कामदार सँगै पराल धुनु काट्नु पकाउनु उनीहरूको दैनिकी जस्तो बनेको छ अहिले । व्यवसायी भेकराजका छोरा मनोज पनि बिदेश जाने मनसाय नबनाई बुवाले गरेको व्यवसायमा सहायता गर्दै आएका छन् ।
“पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने सोँचाई त्यगी आफु र अन्य बेरोजगारलाई रोजगार दिने बातावरण हामी आफै बनाउन सक्छौं,” मनोजले भने “यदि हामी हृदय देखिनै लाग्छौ भने असम्भव केही छैन, आफ्नै देशमा पैसा फलाउन सकिन्छ ।” उनले विदेशमा गएर भन्दा स्वदेशमै बसेर केही गर्ने हो भन्ने कुराको गतिलो उदाहरण प्रस्तुत गरेका छन्, जुन सबैले अनुसरण गर्नु आवश्यक देखिन्छ ।
अनिश शर्मा गैरे