सामूहिक नेतृत्वबाट अघि बढ्छु : आईजीपी खनाल

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सामूहिक नेतृत्वबाट अघि बढाउने प्रतिवद्धता जनाएका छन् । सेवा अवधिबाट अवकास पाएका प्रहरी महानिरीक्षक प्रकाश अर्याललगायत उच्च पदस्त अधिकारीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै खनालले संस्थागत र सामूहिक नेतृत्वका आधारमा जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेका हुन् ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले २०४६ सालमा प्रहरी सेवा प्रवेश गरेका डीआईजी खनाललाई २६ औं महानिरीक्षकमा बढुवा गरेको थियो । २०४४ चैत २८ गते सेवा प्रवेश गरेका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजी, ८ डीआईजी र १ एसएसपीले ३० वर्षे सेवाअवधिका कारण बुधबारबाट एकैदिन अवकास पाएका छन् ।
यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३० भन्दा बढी उच्च अधिकारीले बुधबारबाटै एकैसाथ अवकास पाएका छन् । आईजीपी अर्याल, एआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, माधव जोशी, पशुपति उपाध्याय, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, कमलसिंह बम, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, माधवप्रसाद नेपाल, रणबहादुर चन्द, हेमन्त पाल, पंकज श्रेष्ठ, बिजय भट्ट, डीआईजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, रमेश भट्टराई, गोविन्द निरौला, पुस्कलराज रेग्मी, पुष्पचन्द्र रञ्जित, रोमेन्द्रसिंह देउजा र सुदीप आचार्य तथा एसएसपी विष्णुहरी गौतम बिहीबारबाट ३० वर्षे अवधिका कारण अनिवार्य अवकास पाएका हुन् । उनीहरुले २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
यसैगरी २०४४ चैत ८ गते नै सेवा प्रवेश गरेक सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तथा एआईजीद्वय प्रकाश ओझा र प्रेम शाहीले पनि बुधबारबाटै अवकास पाएका छन् । सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेन्द्र खनालले तीनैजनालाई बुधबार विदाई गरेका हुन् ।
बुधबारबाटै अवकास पाएका आईजीपी अर्यालले प्रहरी कमान्डको जिम्मेवारी नवनियुक्त आइजीपी खनाललाई हस्तान्तरण गर्दै ३० वर्षको अवधिमा धेरै आरोह–अवरोहको सामना गर्नुपरेको बताए । आफ्नो १ वर्षे कार्यकालमा प्रहरी संगठनको अहितमा कुनै काम नगरेको अर्यालले दावी गरे । नवनियुक्त आईजीपी खनाल क्षमतावान र संगठनको छवी उकास्न सक्षम अधिकृत भएको भन्दै अर्यालले संगठन र देशको हितमा बाहिर बसेर पनि सक्रिय रुपमा सहयोग गर्ने बताए ।
डीआईजी खरेलको राजीनामा नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) रमेशप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । अपराध विरुद्धका अभियानमा लोकप्रिय छवी बनाएका डीआईजी खरेल आइजीपी बढुवामा सरकारले आफूलाई अन्याय गरेको निष्कर्षसहित प्रहरी सेवाबाट बाहिरिएका हुन् । सरकारले डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि खरेलले बुधबार डीआईजीबाट राजीनामा दिएका हुन् । सरकारले कार्यदक्षता, क्षमता, पारदर्शीता र स्वभाविक प्रक्रिया भन्दा बाहिरबाट आईजीपी बनाएको पनि टिप्पणी गरेका छन् । आईजीपीमा बढुवा भएका खनाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत खरेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । आफूले देश र प्रहरी संगठनलाई बाहिरै बसेर सहयोग गर्ने पनि जनाएका छन् । खरेलको राजीनामा गृह मन्त्रालयले बुधबार नै स्वीकृति गरेको छ । २०४५ फागुन १ गते भलिवल खेलाडीका रुपमा जवानबाट सेवा प्रवेश गरेका खरेल २०४६ माघ २९ गते प्रहरी निरीक्षक बनेका थिए । प्रहरी निरीक्षकबाट डीएसपी, एसपी र एसएसपी सम्मको बढुवामा सधै पहिलो नम्बरमा रहेका खरेललाई उनका प्रतिस्पर्धी खनालले उछिनेका थिए । |