३५ हजार डलरसहित भारतीय पक्राउ

३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट प्रहरीले पूर्वी चम्पारण–विहारक २५ वर्षीय शेषनाथ प्रसादलाई स्रोत नखुलेको करिव ३६ लाख रुपैयाँ बराबरको अमेरिकी डलर बरामद गरेको हो ।
काठमाडौंबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ६२९१ नम्बरको यात्रुबाहक बसमा जाँच गर्ने क्रममा बसमा रहेका शेषनाथको जुत्ता खानतलासी गर्दा अबैध विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकम सुन तस्करी, लागूपदार्थ ओसरपसार वा भन्सार छलीबापतको कमिसन भएको हुनसक्ने प्रहरीको आशंका छ । विदेशी मुद्रा सहित पक्राउ परेका आरोपितलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।