डीआइजी रमेश खरेलको राजीनामा स्वीकृत, आइजीपी, १५ एआइजी र ८ डीआइजीले पनि पाए अवकास

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआइजी) रमेशप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । अपराध विरुद्धका अभियानमा लोकप्रिय छवी बनाएका डीआइजी खरेलले आइजीपी बढुवामा सरकारले अफूलाई अन्याय गरेको निष्कर्ष सहित प्रहरी सेवाबाट बाहिरिएका हुन् । खरेलको राजीनामा गृह मन्त्रालयले बुधबार नै स्वीकृति गरेको छ । सरकारले डीआइजी सर्बेन्द्र खनाललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले बुधबार डीआइजीबाट राजीनामा दिएका हुन् । सरकारले कार्यदक्षता, क्षमता, पारदर्शीता र स्वभाविक प्रक्रिया भन्दा बाहिरबाट आइजीपी बनाएको पनि टिप्पणी गरेका छन् । आइजीपीमा बढुवा भएका खनाललाई सामाजिक सञ्जाल फेसबुक मार्फत खरेलले बधाई दिदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । आफूले देश र प्रहरी संगठनलाई बाहिरै बसेर सहयोग गर्ने पनि जनाएका छन् ।
२०४५ फागुन १ गते भलिवल खेलाडीका रुपमा जवानबाट सेवा प्रवेश गरेका खेल २०४६ माघ २९ गते प्रहरी निरीक्षक बनेका थिए । प्रहरी निरीक्षकबाट डीएसपी, एसपी र एसएसपी सम्मको बढुवामा सधै पहिलो नम्बरमा रहेका खरेललाई उनका प्रतिस्पर्धी खनालले उछिनेका थिए ।
यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३० भन्दा बढी उच्च अधिाकरीले बुधबारबाट एकैसाथ अवकास पाउँदै छन् ।
३० वर्षे सेवाअवधिका कारण अवकास पाउँन लागेका प्रहरी महानिरीक्षक प्रकाश अर्याल सहित १५ अतिरिक्त महानिरीक्षक (एआइजी), ८ नायव महानिरीक्षक (डीआइजी)लार्य प्रहरी प्रधान कार्यालयले बुधबार साँझ विदाई गर्दै छ ।
आइजीपी अर्याल, एआइजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, माधव जोशी, पशुपति उपाध्याय, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, कमलसिंह बम, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, माधवप्रसाद नेपाल, रणबहादुर चन्द, हेमन्त पाल, पंकज श्रेष्ठ, बिजय भट्ट, डीआइजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, रमेश भट्टराई, गोविन्द निरौला, पुस्कलराज रेग्मी, पुष्पचन्द्र रञ्जित, रोमेन्द्रसिंह देउजा र सुदीप आचार्य तथा एसएसपी विष्णुहरी गौतम बिहीबारबाट ३० वर्षे अवधिका कारण अनिवार्य अवकासमा जाँदै छन् । उनीहरुले २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र अतिरिक्त महानिरीक्षक प्रकाश ओझाको कार्यकाल पनि बुधबार अन्तिम हो । उनीहरु पनि ३० वर्षे सेवाअवधिकै कारण अवकास पाउँदैछन् ।