लाप्राक नमुना बस्ती निर्माण तीव्र «

लाप्राक नमुना बस्ती निर्माण तीव्र

मौसममा आएको प्रतिकूलतासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्दै आएको लाप्राक एकीकृत नमुना बस्ती निर्माणले तिव्रता पाएको छ । निमार्ण कार्यलाई छिटोछरितो सम्पन्न गर्न निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री, जनशक्ति एवम् अन्य सहयोग प्रभावकारी रुपमा सञ्चालन गरिएपछि निर्माण कार्यले गति लिएको हो ।
एनआएनएले लाप्राक एकीकृत बस्ती निर्माणका लागि निर्माणस्थलमा नै एकीकृत रुपमा बालुवा, गिटी उत्पादनका लागि क्रसर मेसिनसमेत जडान गरेको छ । निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्ने योजनाअनुरुप एनआरएनए अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्तलगायतको टोलीले हालै लाप्राक नमुना बस्ती अवलोकन समेत गरेको छ ।
अवलोकनका क्रममा एनआरएनए अध्यक्ष भट्टले समयमा निर्माण सम्पन्न गरी लाभग्राही स्थानीयलाई बस्ती हस्तारण गर्ने योजनासहित निर्माणको काम भइरहेको जानकारी दिए ।
क्रसर मेसिनको जडानपछि पुनर्निर्माणका लागि आवश्यक पर्ने बालुवा तथा गिटीको आवश्यकता पूरा हुने अपेक्षा गरिएको छ । क्रसरबाट निर्माण सामग्री अर्को हप्ताबाट सुरु गरिने जनाइएको छ । यसरी नै बस्ती निर्माण गर्ने क्रममा अन्तिम चरणमा रहेका २९ वटा घरको फाउन्डेसनको काममात्र बाँकी रहेको छ । यसरी नै अन्य सबै घरको प्लिन्थ लेबलसम्मको टाइबिमसम्मको काम वैशाख १५ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । यसरी नै मौसममा आएको सुधारसँगै इँटा उत्पादन कार्यसमेत सुरु भइसकेको छ । यसअघि नै ३० हजार इँटा उत्पादन भइसकेको छ । लाप्राक पुनर्निर्माणका लागि एनआरएनएको प्राविधिक टोलीसहित हाल १४० नेपाली सेना र १०० स्थानीय कामदारले काम गरिहेका छन् । मौसम र भौगोलिक कठिनाइका बाबजुत निर्माण कार्यका खटिएका कर्मचारी तथा कामदारलाई गैरआवासीय नेपाली संघले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्