प्रमको भारत भम्रण फलदायी भएको छ :अध्यक्ष भट्ट «

प्रमको भारत भम्रण फलदायी भएको छ :अध्यक्ष भट्ट

प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गर्दै भारत गएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले भ्रमण छोटो, प्रभावकारी र फलदायी भएको बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले नयाँदिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरमको प्रतिनिधि मण्डलस्तरीय बैठकमा संघको नेतृत्व गर्दै अध्यक्ष भट्ट सहभागी भएका थिए ।
भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी भई अध्यक्ष भट्टले नेपालमा लगानी बढाउन र घोषित कार्यक्रमलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
मित्रराष्ट्र भारतको यो भ्रमण अत्यन्त उपयुक्त समयमा भएको चर्चा गर्दै अध्यक्ष भट्टले मुलुकमा आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न सकारात्मक वातावरण बनिसकेको अवस्थामा भारतीय लगानीकर्ताहरु समेत नेपालमा लगानीका लागि इच्छुक रहेको पाइएको बताए । अध्यक्ष भट्टले नेपाल भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउन भारत सकारात्मक देखिएको बताउँदै भ्रमण दुवै मुलुकको निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बनाउन र आपसी सहकार्यमा विश्वास दिलाउने हिसाबले फलदायी भएको बताए ।
भारतमा रहँदा अध्यक्ष भट्टले प्रधानमन्त्रीसँगको औपचारिक समारोहमा सहभागी हुनुका साथै नेपाल भारतबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष भट्टले भारत भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओली एवं नेपाल सरकारप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् भने संघ यस किसिमको सहकार्य र सहभागिताका लागि नेपाल सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि यस किसिमका कार्यहरुले निरन्तरता पाउने अपेक्षा गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्