सरकारको ध्यान रोजगारी सिर्जनामा : मन्त्री विष्ट

दायित्व सस्ंथाले युवा आज नामक अभियान सुरु गरेको छ । कुपण्डोल, ललितपुरस्थित होटल हिमालयमा विशेष कार्यक्रम गरी अभियानको औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिस्टले अबको सरकारले कृषि, खानी, विज्ञान, प्रविधि, जडीबुटी तथा पर्यटनको क्षेत्रमा ध्यान दिने बताए । मन्त्री विष्टले सरकारको ध्यान रोजगारी सिर्जना गर्नेमा भएकोले सबैसँग हातेमालो गर्न तयारी रहेको बताए ।
युवा रोजगारीको अवसर, चुनौती तथा समस्यालगायतका विषयमा केन्द्रित भई कार्यक्रमलाई समूहगत छलफल (प्यानल डिस्कसन), युवा भेला गरी दुई खण्डहरूमा विभाजन गरिएको थियो ।
पहिलो खण्डको समूहगत छलफलमा रोजगार खोज्ने व्यक्ति र रोजगारदाताबीच रहेको सूचनाको कमी र अभावलाई कसरी घटाउन सकिन्छ ? व्यक्तिको आकांक्षा अनुरूपको पेसामा मेल ल्याउन कसरी सुनिश्चित गर्न सकिन्छ ? रोजगारीसम्बन्धी कानुन परिमार्जन, निजी क्षेत्रमा पुनः लगानी लगायतका विषय तथा मुद्दाहरूमा छलफल गरिएको थियो ।
दोस्रो खण्डअन्तर्गत युवा भेलामा युवा रोजगारीको चुनौतीहरू र सम्भावना लगायतका विषयमा समूहगत छलफल गरिएको थियो ।
कार्यक्रममा उद्यमी, संघ–संस्थाहरूले आफ्ना उत्पादन तथा सामग्रीहरू प्रदर्शनीमा पनि राखेका थिए । यस अभियानका लागि प्रदेश नं. ५ को स्थानीय तह, प्रादेशिक तह तथा संघीय तहमा १०-१० जना गरी ३० जना क्षमतावान् नव युवा अभियन्ताहरूको खोजी गरिरहेको पनि सस्ंथाको कार्यकारी निर्देशक, डा. पुकार मल्लले जनकारी दिए ।
साथै आवेदनका लागि १४ वैशाख ०७५ सम्म आवेदन फारम खुला गरिएको छ तथा छनोटमा परेका नव युवा अभियन्ताहरूले कार्ययोजना बनाई अभियानमार्फत स्थानीय सरकार, जन प्रतीनिधि, सांसद तथा सम्बन्धित अन्य सरोकारवालाहरूसँग नीति तथा व्यवाहार परिवर्तनका लागि पैरवी गर्ने पनि मल्लले बताए ।