बाँकेमा बर्डफ्लुविरुद्ध उच्च सतर्कता, कुखुरा आयातमा कडाइ «

बाँकेमा बर्डफ्लुविरुद्ध उच्च सतर्कता, कुखुरा आयातमा कडाइ

भारतको उत्तर प्रदेशमा कुखुरामा बर्डफ्लु देखिएपछि बाँकेमा उच्च निगरानी बढाइएको छ । खुला सिमानाका कारण पंक्षि तथा पंक्षिजन्य वस्तु भित्रन सक्ने भन्दै सरोकारवालाले चेकजाँचमा कडाइ गरेका छन् ।
कुखुरा व्यवसायी संघ बाँकेले बाँके–बर्दियालाई निषेधित क्षेत्र घोषणा गर्न प्रशासनसँग माग गरेको छ । बाँकेसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा बर्डफ्ल्यु देखिएको र बाँके तथा बर्दियामा सो रोग भित्रन सक्ने उच्च जोखिम रहेको भन्दै संघले भारतबाट अवैध रूपमा भित्रिने पंक्षि र पंक्षिजन्य पदार्थमा निशेधित क्षेत्र घोषणा गर्न संघले माग गरेको हो । संघका अध्यक्ष लालबहादुर खत्री नेतृत्वको टोलीले बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै सीमा नाकामा चेक जाँचमा कडाइ गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाएलगत्तै बाँकेका सुरक्षा निकाय एवं सम्बन्धित निकायले भारतबाट हुने गरेको अवैध कुखुरा आयात रोक्न सक्रिय बनेका छन् । भारतमा फैलिएको बर्डफ्लुका बारेमा जानकारी पाएलगत्तै नेपालगन्ज उपमहानगरपालिकाले सीमा क्षेत्रमा गरेको अनुगमनका क्रममा ४२५ भारतीय सेतो अण्डा र ५० बढी कुखुरा बरामद गरेको छ । यसैगरी जिल्ला प्रसासन कार्यलयले सिमानामा रहेका सबै सम्बन्धित निकायलाई कुखुरा भित्रन नदिन कडा निर्देशनसमेत दिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशबहादुर शाहीले जनाएका छन ।
पछिल्लो पटक बाँकेसँगै जोडिएको भारतको उत्तर प्रदेशका विभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि नाकामा अहिले कडाइ थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले बताए । खुला सिमानाका कारण बाँके बर्डफ्लुको उच्च जोखिममा छ । सरकारले भारतबाट भित्रने पंक्षि तथा पंक्षिजन्य वस्तुमा यसअघि केही वर्षबाटै प्रतिबन्ध लगाएको छ । तर खुला सिमानाको फाइदा उठाउँदै भारतबाट कुखुरा नेपाल भित्रिरहेका छन् । जसका कारण बाँकेमा बर्डफ्लुको उच्च जोखिम छ ।
कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रिले कुखुरालाई पूर्णरूपमा भित्रन नरोके रोग भित्रन समय नलाग्ने बताए ।
करिब पाँच वर्षअघि बाँकेमा भित्रिएको बर्डफ्लुका कारण हजारौँ कुखुरा मरेको कुरा कुखुरा व्यवसायीले भुल्न नसकेकोले ‘यो पटक पनि त्यस्तै स्थित आउन सक्ने सम्भावना बढेपछि हामि किसान अत्तालिएका छौ’ कृषक तेजमान रेश्मिले भने । बजारमा ८० प्रतिशतसम्म प्रतिबन्धित भारतीय कुखुरा बिक्री भइरहेको कुखुरा व्यवसायीहरूले दाबी गरिरहेका बेला सीमावर्ती भारतीय क्षेत्रमा बर्डफ्लु देखिएपछि त्यसले चारैतिर चिन्ता उत्पन्न गराएको छ । भारतबाट आउने कुखुरा, अण्डा र चल्लालाई आउन नदिन कडाइ गरिएको नेपालगन्ज भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्