चीन सरकारद्वारा सिंहदरबारको सोलार हस्तान्तरण «

चीन सरकारद्वारा सिंहदरबारको सोलार हस्तान्तरण

चिनियाँ सरकारको अनुदानमा सिंहदरबार र आसपासमा जडान एक मेगावाट बराबरको सौर्य ऊर्जा (सोलार) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
चिनियाँ सरकारको करिब ६१ करोड अनुदानमा जडान गरिएको सोलार चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका साथै चिनियाँ राजदूत यु होङको उपस्थितिमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारलाई हस्तान्तरण गरिएको हो । आयोजना हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनको सहयोगमा नेपालमा सबैभन्दा ठूलो सोलार आयोजना निर्माण गरिएको बताउँदै विद्युत् पहुँच वृद्धिका लागि ग्रामीण क्षेत्रमा सोलारलाई विस्तार गर्नुपर्ने बताए । नेपालका लागि चिनियाँ राजदूत होङले नमुना परियोजनाको रूपमा सिंहदरबारमा सोलार जडान गरिएको बताइन् ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका १९ विभिन्न मन्त्रालय र निकायहरूको छतमा सोलार जडान गरी उत्पादन भएको छ । प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा सिंक्रोनाइज गरिएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको छतबाट सबैभन्दा बढी ९४.०८ किलोवाट विद्युत् उत्पादन भएको छ भने कृषि विकास बैंकको छतबाट ९२.१२ र राष्ट्रिय वाणिज्य बैकबाट ८९.३२ किलोवाट विद्युत् उत्पादन भएको छ । सबैभन्दा कम भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पार्किङ क्षेत्रबाट ११.७६ र रेडियो नेपालको छतबाट १२.३२ किलोवाट उत्पादन भएको छ । सिंहदरबारका ऊर्जा, परराष्ट्र, शिक्षा र महिला तथा बालबालिका मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, हुलाक क्षेत्रीय कार्यालय तथा सिंहदरबारसँग जोडिएका जिल्ला विकास समिति, जिल्ला अदालतलगायतबाट विद्युत् उत्पादन भएको छ ।
२०६७ सालमा सिंहदरबारभित्र ५ मेगावाट सोलारमार्फत उत्पादन गर्ने योजना बनाए पनि साढे तीन वर्षअघि मात्र चिनियाँ कम्पनीले सिंहदरबारभित्रका ३५ र बाहिरका १५ सरकारी कार्यालयका छतबाट उत्पादनबारे अध्ययन सुरु गरेको थियो । अध्ययनले ती भवनमध्ये आधाबाट मात्र उत्पादन हुनसक्ने देखाएको थियो । टिनका छाना भएका, घाम कम लाग्ने लगायतका कारण कतिपय भवन सोलारका लागि अनुपयुक्त देखिएका थिए ।
सुरुमा सिंहदरबारभित्रका छत उपयोग गर्दा सोलारबाट ५ मेगावाट विद्युत् उत्पादन गर्ने अपेक्षा गरे पनि चिनियाँ कम्पनीले गरेको अध्ययनले एक मेगावाटमात्र उत्पादन गर्ने देखाएको थियो । अध्ययनकै क्रममा २०७२ वैशाखमा भूकम्प आएपछि आयोजना अघि बढाउन ढिलाइ भएको थियो भने यही भूकम्पका कारणले भत्केपछि सिंहदरबारका केही भवन सोलार प्लान्ट जडान गर्न अयोग्य भएका थिए । अध्ययनपछि ३० सेप्टेम्बर २०१६ मा १ मेगावाट बराबर उत्पादन गर्ने गरी मन्त्रालय र चिनियाँ दुतावासबीच सम्झौता भएकोमा १० महिना अघिदेखि सोलार जडान सुरु गरिएको थियो भने गत पुसमा निर्माण सम्पन्न भएको थियो । सोलार आयोजनाको जडानको काम ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसन लिमिटेड र परामर्शदाता कम्पनी चाइना न्यू इरा इन्टरनेसनल इन्जिनियरिङ कोअपरेसनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्