५ सय प्रजातिका फूलको व्यावसायिक खेती «

५ सय प्रजातिका फूलको व्यावसायिक खेती

नेपालमा कम्तीमा पाँच सय प्रजातिका फूलको व्यावसायिक खेती हुने गरेको छ । पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार बर्सेनि थप प्रजातीका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ ।
पछिल्ला वर्षमा आधुनिक टनेलमा पुष्प खेती गरिँदै आएको छ । “१५ वर्षअघि नेपालको फूलको माग पूर्ति गर्न कुल मागको ८० प्रतिशत आयात गर्नुपर्ने अवस्था थियो, तर अहिले २० प्रतिशत मात्र आयात गरे पुग्ने अवस्था छ,” शुक्रबारदेखि सुरु हुने राष्ट्रिय पुष्प मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने, “पाँच सयभन्दा बढी प्रजातीका फूलको हाल व्यावसायिक खेती गरिरहेका छौं भने नेपालका मौलिक र परम्परागत फूलको पनि व्यावसायिक उत्पादनमा अनुसन्धान गरिरहेका छौं ।” हाल खेती भइरहेका हाइब्रिड जातका फूलको विउविजन तेस्रो मुलुकबाट आयात भइरहेको उनले बताए ।
नेपालमा विशेषगरी मौसमी फूल, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरीलगायतका फूलका प्रजातीको खेती हुँदै आएको छ । नयाँ पुराना व्यावसायिक खेती भइरहेका फूलको प्रवद्र्धनका लागि एसोसिएसनले बर्सेनि राजधानी र राजधानी बाहिरसमेत पुष्प मेलाको आयोजना गर्दै आएको छ । शुक्रबारदेखि चार दिनसम्म चल्ने पुष्प मेलामा नयाँ पुराना फूलका विउ तथा विरुवा, यससँगसम्बन्धी प्रविधि, मलखाद, सिँचाइलगायतका प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण गर्ने जनाइएको छ । पुष्प प्रदर्शनीको यो एक्काइसौं संस्करण हो । पुष्प प्रवद्र्धन नीति आएसँगै पछिल्लो आधा दशकयता भने एसोसिएसनको अभियानमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग गर्दै आएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ हुन लागेको २१ औं पुष्प मेलामा कुल ८२ वटा स्टल रहने आयोजकले जनाएका छन् । जसमध्ये ६५ वटा स्टल व्यावसायीक पुष्प प्रदर्शनी तथा बिक्रीका लागि हुनेछन् भने प्रतियोगितात्मक प्रदर्शनीका लागि एउटा, अफिसियल स्टलका लागि १० वटा, ल्यान्ड स्केपिङका लागि चार वटा र दुई वटा फुड स्टल रहने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
मेला अवधिभर ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र ६० देखि ६५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान एसोसिएसनको छ । एसोसिएसनले पुष्प प्रवद्र्धनमा खेलेको महत्वपूर्ण भूमिकाका कारण सरकारले पुष्प प्रवद्र्धनका कार्यक्रमहरु एसोसिएसनको सहकार्यमा गर्दै आएको पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्ले बताए ।
नेपालभर करिब १ सय ५३ हेक्टरमा हुँदै आएको व्यावसायिक पुष्प खेतीमा प्रत्यक्ष अप्रत्यक्ष ४३ हजारको सहभागिता रहेको सरकारी तथ्यांक छ । गत आर्थिक वर्षमा ७१ करोड ३० लाख बराबरको पुष्प कारोबार भएको थियो । गत वर्ष १० करोड बराबरको पुष्प तथा पुष्पजन्य उत्पादन आयात भएको थियो । पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहँदै आएको छ । नेपालमा पाइने गुराँसलगायतका जंगली फूलको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययनसमेत भइरहेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्