रोक्का भए पनि २ वर्षमा ३ सय नयाँ म्यानपावर दर्ता «

रोक्का भए पनि २ वर्षमा ३ सय नयाँ म्यानपावर दर्ता

सरकारले ६ वर्षदेखि नयाँ म्यानपावर कम्पनी दर्ता रोके पनि विगत २ वर्षमा ३ सयभन्दा बढी नयाँ म्यानपावर कम्पनी दर्ता गरिएको पाइएको छ । अख्तियारको कारबाहीपछि निलम्बित वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले चोर बाटोबाट अनुमति दिएको जानकारहरु बताउँछन् ।
सरकारले नयाँ कम्पनी दर्ता प्रक्रिया रोकेपछि वैदेशिक रोजगार विभागले अदालतको आदेशमा मात्र नयाँ कम्पनी दर्ता गर्दै आइरहे पनि यसैको आडमा नयाँ म्यानपावर दर्ता भएका हुन । दर्ता प्रक्रिया रोक्का भएको ३ वर्षपछि मात्र धेरै कम्पनी दर्ता हुने क्रम बढेको देखिन्छ । वैदेशिक रोजगार विभागबाट नयाँ म्यानपावर कम्पनी दर्ता र कम्पनी खारेज फुकुवा प्रक्रियामा पैसा लेनदेन हुने गरेको बिषय सार्वजनिक भइरहेका छन् ।
सरकारले २०६८ असोज १३ मा मन्त्रिपषिद्बाट निर्णय गर्दैै म्यानपावर कम्पनीको संख्या बढी भएको र तिनका शाखा कार्यालयको अनुगमन गर्न पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसकेको जनाउदै नयाँ अनुमति नदिन विभागलाई निर्देशन गरेको थियो । सोही निर्देशन बमोजिम विभागले नयाँ कम्पनी दर्ता रोक्का गरे पनि व्यववसायीले अदालतको आदेशअनुसार हालसम्म ३ सय म्यानपावर दर्ता गरेको वैदेशिक रोजगार विभाग संस्था दर्ता शाखाका अधिकृत टंक चौलागाईले जानकारी दिए ।
अदालतको आदेशअनुसार प्रक्रिया पु¥याएर कम्पानी दर्ता गर्न आउने व्यवसायीलाई नयाँ कम्पनी संचालनको अनुमति दिने गरिएको उनले बताए । विभागले हालसम्म १ हजार ३ सय ४८ म्यानपावरलाई वैदेशिक रोजगारीका लागि कामदार पठाउनका लागि अनुमति दिइसके पनि हाल ७ सय ५० को हाराहारीका म्यानपावरको मात्र दर्ता नवीकरण भएको देखिन्छ । १ हजार ३ सय ४८ म्यानपावरमध्ये पनि ३ सयभन्दा बढी म्यानपावर विभिन्न कारणले खारेजीमा परेका छन् । बाँकी म्यानपावरले दर्ता नवीकरण नगरेको देखिन्छ । सरकारले म्यानपावर कम्पनीको दर्ता प्रक्रिया रोक्नुअघि २०६८ सालसम्म १ हजार ३५ म्यानपावर दर्ता भएको विभागको संस्था दर्ता शाखाको रेर्कडमा उल्लेख छ । सरकारले म्यानपावर दर्ता रोक्का गरेपछि आर्थिक वर्ष २०७२÷२०७३ मा एउटा मात्र कम्पनी दर्ता भएको देखिन्छ । यसरी नै गत आबमा १ सय ७८ कम्पनी दर्ता भएको देखिन्छ भने चालू आर्थिक वर्षको कात्तिक महिनासम्म १ सय ३४ कम्पनी दर्ता भएको देखिन्छ । सरकारले दर्ता प्रक्रिया रोक्का गरेको लामो समयपछि अदालतको आदेशमा कम्पनी दर्ता गर्न पाउने अधिकार जानकारी पाएका कारण सो अवधीमा धरै व्यवसायी दर्ता प्रक्रियामा आएकोले विगत २ वर्षमा दर्ता संख्या बढेर ३ सय १३ पुगेकोे विभागको भनाइ छ ।
वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले नेपाली युवाका लागि नयाँ गन्त्बय प्रवद्र्धन नभएसम्म नयाँ कम्पनी दर्ता अनुमति दिन नहुने बताए । “नेपालको वैदेशिक रोजगार व्यवसायको बजार गल्फ र मलेसियाजस्ता देशबाहेक अन्य क्षेत्रमा विस्तार हुन सकेको छैन,” अध्यक्ष गुरुङले भने, “हाल संचालनमा भएका कम्पनीले समेत वर्षभरी एक सय कामदार पनि पठाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा व्यवसायीको लगानी सुरक्षित गर्न नयाँ दर्ता रोक्नु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्