तरकारीमा विषादीको प्रयोग घटाइँदै

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान अग्र्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । भारतबाट आउने तरकारी नियन्त्रण गर्दै स्थानीय किसान अग्र्यानिक तरकारी उत्पादनमा सक्रिय भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिकाका किसान व्यवसायिक खेतीमा लागेका हुन् ।
निर्वाहमुखी तरकारी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउन राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा लुम्बिनी सामाजिक विकास केन्द्रले एक वडामा ६ वटा समूहका दरले तीन वडामा १८ समूह बनाएर काम गरिरहेको छ ।
गाउँपालिकाका पोखराथोक, खिदिम र अड्गुरीका किसानले विषादीको प्रयोग हटाई घरायसी रासायनिक विषादी प्रयोग गर्न लागेका छन । व्यावसायिक तरकारी खेती गरेका कृषकहरुले तालिम प्राप्त गरेसँगै रासायनिक विषदीको प्रयोग हटाएका हुन् । “महँगो पैसा हालेर विषादी किन्नभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भएकाले घरमै बनाइएको विषादी प्रयोग गर्न थालेका हौं,” अड्गुरी भञ्ज्याङ कृषक समूहका विष्णुप्रसाद न्यौपानेले भने, “विषादी बनाउने तालिम लिएपछि खेती गर्न सहज भएको छ ।”
खिदिमको नमुना तरकारी कृषक समूहकी सदस्य सुशीला आचार्यले पनि अहिलेसम्म रासायनिक विषादी प्रयोग गर्दै आएको भए पनि अब तालिम लिएपछि जैविक विषादी प्रयोग गर्ने बताइन् । जैविक विषादी बनाउन सिकाउने प्राविधिक हिमलाल न्यौपानेले अड्गुरी र खिदिममा गरी ४८ घरधुरीलाई तालिम दिइसकेको बताए । उनले पोखराथोकका किसानलाई पनि जैविक विषादी बनाउन सिकाउने बताए ।
किसानलाई व्यावसायिक तरकारी खेती गर्न विभिन्न सामाजिक संघ–संस्थाले सहयोग गर्दै आएका छन् । “वर्षे मौसममा लगाउने उन्नत जातका तरकारी विउ वितरण गरेका छौं,” लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले भने, “किसानलाई उन्नत जातका गोलभेंडा, काँक्रो, घिरौंला, लौका, सिमला मृच, करेला, फर्सी, मुला, बोडी, सिमी, भिण्डी, धनियालगायतका तरकारीको बीउ वितरण गरेका छौं ।” उनले किसानलाई अनुदानमा प्लास्टिक टनेल र क्यारेट पनि वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए ।
–घनश्याम पौडेल