पर्यटन वर्ष सफल पार्न स्थानीय सरकार सक्रिय «

पर्यटन वर्ष सफल पार्न स्थानीय सरकार सक्रिय

कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन बर्ष २०७५ को घोषणा गरेपछि त्यसका लाभ लिन यहाँका स्थानीय तहहरू जुरमुराएका छन् । कर्णालीमा आउने पर्यटकहरूबाट आर्थिक लाभ लिन यहाँका स्थानीय तहहरूले पर्यटकहरूलाई तान्न बिभिन्न कार्ययोजनासमेत तयार पारेका छन् ।
कर्णाली चिनो स्वरुप यहाँ उत्पादन हुने स्थानीयबाली बिक्री वितरण, पर्यटकहरूलाई सहजताका बिभिन्न धार्मिस्थलहरू सिंगार पटार गर्नुका साथै स्थानीय खानाका परिकार, होटल खोल्ने कार्यलाई स्थानीय तहहरूले प्रोहोत्सान गर्न थालेका हुन् ।
सरकारले रारा पर्यटन वर्ष मनाउन लागेको त्यसलाई सफल पार्न कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले पर्यटक बास बस्नका होटल खोल्न, स्थानीय अन्नबालीका लागि कोसेली घर लगायतका पूर्वाधार निर्माण गर्न थालिएको नगरपालिका कार्यकारी अधिकृत गोविन्द्रप्रसाद देवकोटाले बताए । “हामीले पर्यटन वर्षमा अधितम लाभ लिने योजना बनाएका छौं,” उनले भने, “धार्मिक मठमन्दिरहरू, होटेल र पर्यटकलाई सहजताका लागि बिभिन्न क्षेत्रमा लगानी गर्न व्यवसायी आग्रह गरेका छौं ।”
कर्णाली पर्यटक वर्षमा तिलागुफा नगरपालिकाले रातो टीका लगाएर स्वागत गर्ने ओझेलमा परेको तिला गुफाको पूर्वाधार निर्माण गर्ने, धार्मिक मठमन्दिरहरूलाई आवश्यक पुर्न निर्माण गर्ने तयारी रहेको नगरपालिकाका कार्यकारी अधिकृत देवकोटाले बताए । “तिला गुफा ओझेलमा परेका कारणले अझैं प्रचारमा आउन सकेको छैन,” उनले भने, “मठमन्दिर लगायतका अन्य क्षेत्रमा पनि हामीले पूर्वाधार निर्माण गरेर अगाडि बढ्ने तयारी गरेका छौं ।”
त्यस्तै, जुम्लाको पातारासी गाउँपालिकाले पनि पर्यटक लक्षित गरेर बिभिन्न कार्य योजना तयार पारेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बोहराले बताए । “हामीले पर्यटक तान्नका लागि बिभिन्न योजना बनाएका छौं ।” गाउँपालिकाले पर्यटकहरूलाई लोभ्याउनका स्थानीय कला संस्कृति, काष्ठकला लगायतका क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको अध्यक्ष बोहोराले बताए ।
पर्यटकको संख्या बढ्दै
दुई वर्षयता रारा भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष १२ हजार बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । चालू आर्थिक वर्षको हालसम्म करिब ८ हजार बढी पर्यटकले राराको भ्रमण गरिसकेका छन् ।

रमेश रावल

प्रतिक्रिया दिनुहोस्