सिँचाइ आयोजना प्रयोगविहीन «

सिँचाइ आयोजना प्रयोगविहीन

 

म्याग्दी-करोडौंको लगानीमा निर्माण भएको सिँचाइ आयोजना प्रयोगमा नआउँदा म्याग्दीको मल्लाजका कृषक मर्कामा परेका छन् । सिँचाइका लागि पानी आवश्यक पर्ने हिउँदयाममा आयोजना सञ्चालन नहुँदा कृषक निराश भएका छन् । जलजला गाउँपालिको १, २, ३ र ४ नम्बर वडामा पर्ने बाँसखर्क र माझफाँटको ४८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन ०६८ सालमा १२ करोड रुपैयाँभन्दा बढीको लागतमा आयोजना निर्माण भएको थियो ।
हिउँदमा नहरमा पानी नआउँदा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यता रहेको जलजला–३ का नवीन जिसीले बताए । बर्खामा दैनिक ४० देखि ४५ हल गोरुले खेत रोप्न मिल्ने गरी पानी आउने नहर हिउँद लागेपछि सुक्ने गरेको छ । नहरमा पानी नआउँदा हिउँदे खाद्यबाली प्रभावित हुनुका साथै तरकारी खेती गरेर आयआर्जन गर्ने अवसरबाट स्थानीयबासी बन्चित भएको जिसीले गुनासो गरे ।
८ किलोमिटर ८०० मिटर मुख्य नहर भएको आयोजनाको मुहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ महभिर र जलजला गाउँपालिका–१ बाँसखर्कको सिमानामा पर्छ । हिउँदमा मुहानमा पानीको स्रोत कम हुने र महभिरका बासिन्दाले लघुजलविद्युत् परियोजना सञ्चालनका लागि मुहानको पानी लैजाने गरेकाले नहरमा पानी आउन नसकेको उपभोक्ता समितिले जनाएको छ ।
समितिका अध्यक्ष टेकबहादुर जिसीले महभिर गाउँमा चार फेजको विद्युत लाइन विस्तार गरी पानी मल्लाज ल्याउने विषयमा जलजला र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरूसहित छलफल गरिएको बताए । उनका अनुसार परियोजना चलाउन पर्ने अवस्था अन्त्य गरेपछि मुहानको पानी सिँचाइलाई छोड्ने विषयमा महभिरबासीसँग सहमति गर्न पहल भएको हो ।
मुहानमा हिउँदमा पनि प्रति सेकेन्ड १२४ लिटर पानी आउँछ । ०४२ सालमा सर्वेक्षण भई ०४५ मा सुरु भएको आयोजना राजनीतिक परिवर्तनसँगै ०४६ सालमा रद्द भएको थियो । ०५२ सालको योजनामा समावेश भएको योजनाको कामले ०५८ देखि गति लिएको थियो । २०६७ सालमा बाँसखर्कसम्मको नहरमा पानी चलाइएको थियो ।
मल्लाजको कृषि विकासका लागि अपरिहार्य रहेको सिँचाइ आयोजना सञ्चालनमा प्राथमिकताका साथ पहल गरिएको जलजला–३ का वडा अध्यक्ष रवी भण्डारीले बताए । ०६८ सालमा मुख्य नहर निर्माणले पूर्णता पाएको आयोजनाको हाल ७ वटा शाखा नहर छन् भने उपशाखा नहरहरू निर्माण कार्य अन्तिम चरणमा छ । बर्खा याममा कोटडाँडा भन्ने ठाउँमा पहिरो जाने समस्याका कारण त्यहाँ पाईपमार्फत पानी तार्ने गरिएको छ ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्