पर्यटन प्रबद्र्धन गर्न स्थानीय जातका कुखुरापालन «

पर्यटन प्रबद्र्धन गर्न स्थानीय जातका कुखुरापालन

पोखरा-तनहुँको शुक्लागण्डकी नगरपालिकाको पर्यटकीय क्षेत्र फिरफिरे घरेडीमा रहेको घरवास कार्यक्रम (होमस्टे) मा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कुखुरापालन अभियान सुरु भएको छ । होमस्टेमा पुग्ने पर्यटकलाई मध्यनजर गर्दै लोकल कुखुरापालन गर्ने अभियान थालिएको हो ।
घरेडी पर्यटन होमस्टे विकास समितिका सचिव चित्रबहादुर गुरुङले आर्थिक विकास र समृद्धिका लागि स्थानीयवासीलाई लोकल कुखुरापालन अभियानमा सहभागी गराइएको बताए । उनका अनुसार हरियो वन कार्यक्रम र शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ले उक्त अभियानलाई आर्थिक तथा भौतिक सहयोग गर्दैछन् । हाल आफूसहित उदयबहादुर गुरुङ, रुकप्रसाद गुरुङ, नुनबहादुर गुरुङ र देउमती गुरुङले करिब २५ देखि ३० हजार मूल्य बराबरका कुखुराको खोर निर्माण गरेको सचिव गुरुङले बताए ।
निर्माण गरिएका खुकुराका खोरमा पाँच वटा कोठाको व्यवस्था गरिएको छ । भाले र चल्ला राख्ने छुट्टाछुट्टै खोरको व्यवस्था गरिएको छ । अभियानमा स्थानीयले सुरुमा खोर निर्माण गरेसँगैै १० वटा पोथी र ३ वटा भाले सहयोग प्राप्त गर्ने छन् । पहिलो चरणमा हरियो वनबाट २ लाख र वडाबाट करिब ३ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त हुने आश्वासन आएको उनले बताए । यस क्षेत्रका स्थानीयले अहिले पनि ५ सयभन्दा बढी कुखुरापालन गर्दै आएका छन् ।
शुक्लागण्डकी नगरपालिका–१२ का अध्यक्ष मनराज गुरुङले घरेडी क्षेत्रका करिब ६२ घर परिवारको आर्थिक विकास र समृद्धि गर्ने उद्देश्यका साथ लोकल कुखुरापालन गर्ने अभियान थालिएको बताए । “यहाँ आउने पाहुनाको स्वागतका लागि अग्र्यानिक खाना कोदो, मकै, दूध, दहीका साथमा लोकल कुखुरा खुवाउनुपर्छ भन्ने मान्यताका साथ घर–घरमा अनिवार्य लोकल कुखुरा पालन गर्ने अभियान ल्याएका हौैं,” उनले भने ।
हरियो वन कार्यक्रमका सामाजिक परिचालक सुमित्रा पौडेलले साँधीखोला सुस्मा जलाधार व्यवस्थापन समितिभित्र पर्ने तनहुँ फिरफिरेको घरेडीमा हरियो वन कार्यक्रमले स्थानीय जातका कुखुरा संरक्षणमा लगानी गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्