सतुवाको व्यावसायिक खेती सुरु

म्याग्दी-म्याग्दीको मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा जिल्लामै पहिलो पटक सतुवा जडिबुटीको व्यावसायिक खेती सुरु भएको छ । परीक्षणका लागि यस वर्ष मंगला गाउँपालिकाको विभिन्न १० ठाउँमा सतुवा खेती गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए ।
१० जना कृषक छनौट गरेर सात दिने तालिम दिई निःशुल्क बिरुवा वितरण गरेर सतुवा खेती सुरु गरिएको हो । पहिलो चरणमा नौ जनाले १७ हजार सतुवाको बिरुवा लगाएका छन् । झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवा खेती सुरु गरिएको हो । सतुवा खेती गर्नेमा धापुङका जितबहादुर मगर, झाँक्रेपानीकी सम्झना रोका, सिरकुमका खडानन्द सापकोटा, पूर्णगाउँका नरबहादुर खत्री, थाइवाङका दधीलाल जैसी, हिदीका हेम शेरपुञ्जा, बिष्णु शेरपुञ्जालगायत रहेका छन् ।
जडिबुटी खेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तालिम सञ्चालन र बिरुवा खरिद गरी वितरणका क्रममा हालसम्म पाँच लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको सहायक वन अधिकृत सापकोटाले बताए । बाँकी रहेको बजेटबाट कृषकलाई व्यावसायिक जडिवुटी भएको स्थानको भ्रमण, बजारीकरणको ज्ञानका साथै थप बिरुवा वितरण गर्ने योजना छ । समुद्री सहतदेखि एक हजार ५ सयदेखि २ हजार ५ सय मिटरको उचाइको चिस्यान, ओसेपीलो र मलीलो माटो भएको भूगोलमा सतुवा खेती गर्न सकिने सहायक वन अधिकृत सापकोटाले बताए ।
बजारमा हाल १० हजार रुपैयाँभन्दा बढी मूल्यमा सतुवा बिक्री भैरहेको छ । लगाएको एकै वर्षमा सतुवा खेतीबाट आम्दानी लिन सकिन्छ । सतुवा शक्तिबद्र्धक र विषादी विरुद्धको औषधिको रुपमा प्रयोग गरिन्छ । व्यावसायीक जडिवुटी खेतीप्रती कृषकलाई आकर्षित गरी उनीहरूको आयआर्जनमा सुधार र बाँझिएका खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने उद्देश्यले सतुवा, टिम्मुरलगायत जडिवुटी खेती विस्तारको कार्यक्रम बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
यसैबीच मंगला गाउँपालिकामा प्राङ्गारिक मल उद्योग स्थापनाको तयारी भएको छ । कृषकलाई तालिम प्रदान गरिएको र परीक्षणका लागि प्राङ्गारिक मल उत्पादन सुरु भएको छ । परीक्षण सफल भएपछि व्यावसायीक रूपमा प्राङ्गारिक मल उत्पादन गरी रासायनिक मलको प्रयोग न्यूनीकरण गरिने अध्यक्ष रोकाले बताए ।
सन्तोष गौतम