ताप्लेजुङका भेडीगोठ संकटमा «

ताप्लेजुङका भेडीगोठ संकटमा

ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिका–४, उकालीपानीका कृष्णकुमार गुरुङको घरमा वर्षमा दुई जोडी भेडा पाल्ने गरेको बाजेकै पालादेखि हो । गुरुङको टाट्नोमा वर्सेनि भेडा पालिएकै हुन्छ । किनकी गुरुङ समुदायको घरमा भेडा र लिम्बु समुदायको घरमा सुँगुर नभए समाजमा कुरा काट्ने चलन छ ।
तर, भेडापाठा महँगिएकाले वर्षौंदेखि भेडापालन गर्ने घरका (मुख्यतः गुरुङ समुदाय) टाट्नो रित्तो हुन थालेको छ । “एक जोडी भेडापाठा १९ हजारमा पाइयो”, गुरुङले भने, “त्यै पनि चाँडो गएर मात्र, नत्र खाली हात हुन्थ्यो ।” बाजे बज्यैकै पालादेखि भेडा पाल्ने गरिएकाले महँगो नभनीकन भेडापाठा खरिद गर्नुपरेको गुरुङले बताए । फुङलिङ नगरपालिका–६ की सीता गुरुङले एक जोडी भेडापाठा खरिद गर्न अझै पाएकी छैनन् । उनले भनिन, “पाठा आयो भन्ने वित्तिकै किन्न तीन पटक पुगियो । तर पुग्न नपाउँदै सकियो ।” फुङलिङ नगरपालिका–४ का पहलमान गुरुङका अनुसार जोडी भेडापाठाको मूल्य बर्सेनि तीन हजार रुपैयाँले वृद्धि भएको छ । बाल्यकाल भेडागोठमा बिताएका ८८ वर्षीय गुरुङले भने, “भेडागोठमा झरी बादल र चिसो नभनी लेकबेसी गर्नुपर्छ । जुन अहिलेका पुस्ताले गर्न चाहँदैनन् ।”
एकातिर भेडीगोठ मासिँदै गएका छन् भने छिटफुट बिक्रीका लागि ल्याउने गरेको भेडापाठाको मूल्य निकै महँगिएको छ । भेडाको ऊनबाट निर्मित राडीपाखीसमेत लोप हुन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र लेलेप र पूर्वी क्षेत्र याम्फुदिनमा दुई चार वर्षअघि मात्र दर्जनौं भेडीगोठ थिए । ‘भेडीगोठको हब’ भनेर चिनिएको उक्त क्षेत्रमा अहिले दुई तीनवटा मात्र गोठ छन् । श्रीजङ्घा गाउँपालिकास्थित याम्फुदिनका नरबहादुर गुरुङको मात्र भेडीगोठ छ । ५५ वर्षीय गुरुङले भने, “बेचौं भनेको किन्ने नै आएका छ्रैनन् । पहिले अरुको पनि गोठ हुँदा सहयोग आदनप्रदान हुन्थ्यो, अब छैन ।”
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. बोधनाथ अधिकारीका अनुसार भेडापालक कृषकका लागि प्राविधिक तथा आर्थिक सहयोग गरिएको भए पनि गोठ व्यवसाय संकटमा पर्न थालेको छ । डा. अधिकारीले भने, “धेरथोर जे भए पनि प्राविधिक र आर्थिक सहयोग विगतको तुलनामा बढी नै छ । तथापी भेडीगोठमा युवापुस्ताको आकर्षण देखिएको छैन ।” केही कृषकलाई गएको वर्ष विऊ भेडा खरिद, त्रिपाल, औषधि, सोलार र प्राविधिक ज्ञान दिएको कार्यालयले जनाएको छ । यद्यपी सामुदायिक वनको डर र सरकारी असहयोगका कारण भेडा पालन व्यवसाय संकटमा पर्न थालेको छ ।

देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्