प्रदेश–२ को नीति तथा कार्यक्रम आज

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखसमक्ष आगामी बजेटमा समावेश हुने नीति तथा कार्यक्रम बुझाएका छन् । आज (बुधबार) प्रदेशसभाको बैठकमा सार्वजनिक गरिने सो नीति तथा कार्यक्रममा प्रदेशलाई आर्थिकरूपले समृद्ध बनाउन आवश्यक जग निर्माण गर्ने खालका विषयहरूलाई समावेश गरिएको छ ।
सरकारसम्बद्ध स्रोतले जानकारी दिएअनुसार यसअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भूमिको व्यवस्थापन गरी उत्पादकत्व बढाउनेलगायतका अवधारणाहरूलाई समेटिएको छ । सरकारले नीति तथा कार्यक्रम तय गर्नुअघि विज्ञहरूसँग राय सुझाव संकलन गरेको थियो । विज्ञहरूको रायसुझावलाई ध्यान दिँदै बनाइएको यो नीति तथा कार्यक्रममा प्रादेशिक विकास प्राधिकरण निर्माण गरी योजना तथा कार्यान्वयन गर्ने अधिकार दिने जस्ता विषय समावेश गरिने स्रोतको भनाइ छ ।
जनकपुरमा सम्पन्न रायसुझाव संकलन कार्यक्रममा विज्ञहरूले भूमिको खण्डीकरणले कृषिको उत्पादकत्व ह्रास हुने भएकाले सो उत्पादकत्व वृद्धि गर्न भूमिलाई खण्डीकरण रोक्नुपर्ने उपाय सुझाएका थिए । शिक्षाको अवस्था खस्किँदै गएको र अति विपन्न वर्गका बालबालिकाहरू समक्ष शिक्षा पुग्न नसकेको विषय उठाइएको थियो ।