चीनको विश्वविद्यालयसँग भरतपुरको सम्झौता

चितवन- भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौतापत्रमा एक समारोहका बीच सम्झैतापत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषणा गरिएको हो ।
सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन भएको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिकाको तर्फबाट डा. विश्वास श्रेष्ठले यस सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए ।
सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने बताए । यस्तै मेयर दाहालले चीनको विकासका मोडललाई भित्र्याउन आफू उत्सुक रहेको उल्लेख गरिन् ।