१४ औं महाधिवेसन चांडो गर्नुपर्छु

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई सबल बनाउन छिटै १४ औं महाधिवेसन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधान संशोधन गरेर छिटै महाधिवेसन गर्नुपर्ने सुझाएका छन् ।
“विशेष महाधिशेसन गर्ने पक्षमा म छैन । विधान संशोधन गरेर महाधिवेशनबाटै ‘इन्डोर्स’ गर्ने हिसाबले जानुपर्यो,” उनले भने, “अहिलेको विधानमा १ वर्ष थप्न सकिने प्रावधान छ । हामी त्यो प्रावधान ‘युज’ गर्न चाहदैनौँ । १ वर्ष ११ महिनाभित्रै महाधिवेशन हुनुपर्छ । नेतृत्व परिवर्तन भएरै कांग्रेस सबल भएर अगाडि जान्छ ।”
उनले हालकै महाधिवेसन प्रतिनिधि, केन्द्रीय समितिले विशेष महाधिवेसन गर्नुभन्दा विधान संसोधन गरेर महाधिवेसन गर्नेतर्फ लाग्नुपर्ने बताए । कांग्रेस कमजोर भयो भन्नुलाई ‘खरो’ कुराका रुपमा नलिन उनले आग्रह गरे । “कांग्रेस हारेको महसुस गर्न सक्नुपर्यो, । हामीबाट गल्ती भएको छ । संगठन कमजोर भएको छ,” उनले भने, “दुई तिहाईले विधानमा धेरै संशोधन गर्नुपर्छ । पार्टीलाई पनि संघीय संरचनामा लानुपर्छ ।” उनले पार्टी एकात्मक प्रणालीमा चलिरहेको जीकिर गरे । “चुनाव हार्दा जिम्मेवारी पार्टीले लिनुपर्छ । वैशाखमा महासमितिको बैठक डाकौँ । विधान संशोधन समिति बनाऊँ । सो समितिले बनाएको प्रतिवेदनमाथि छलफल गरेर विधानमा परिवर्तन गरौँ,” उनले भने ।
अर्को प्रसंगमा डा. शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री अधिनायकवादतर्फ लम्कँदै गरेको आरोप लगाए । उनले सबै अधिकार विस्तारै प्रधानमन्त्रीको हातमा गइसकेको जीकिर गरे । “प्रधानमन्त्री शक्तिशाली होइन कि प्रधानमन्त्री अधिकार सम्पन्न हुनुहुन्छ,” उनले भने, “शक्ति पृथकीकरणलाई समाप्त गर्न न्यायपालिकालाई आफ्नो कब्जामा लिइसक्नुभएको छ ।” कोइरालाले मिडियाले अनावश्यक रुपमा प्रधानमन्त्री ओलीको गुणगान गाउन थालेको दाबी पनि गरे ।