कांग्रेसले सम्झिएन जन्मदिन «

कांग्रेसले सम्झिएन जन्मदिन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस स्थापना भएको ६९ वर्षमा प्रवेश गरेको छ । तर, कांग्रेसले आफ्नो जन्मदिन कुनै औपचारिक कार्यक्रम गरेर संस्थागत रुपमा भने स्मरण गरेन ।
सामाजिक सञ्जालमार्फत् भने नेताहरुले आ–आफ्नै तरिकाले जन्मदिनको शुभकामना दिएका छन् । सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत् पार्टी स्थापना दिवसको शुभकामना भने दिएका छन् । उनले मंगलबार ट्विटरमार्फत पार्टी स्थापना दिवसको शुभकामना दिँदै लेखेका छन्, “नेपाली कांग्रेसको जन्मदिनको शुभकामना ! नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथीहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहनुभएका मित्रहरुलगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
२००६ सालमा चैत २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर अहिलेको नेपाली कांग्रेसको स्थापना भएको थियो । भारतको कोलकत्तास्थित टाइगर सिनेमा भवनमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच चैत २७ गते एकीकरण घोषणा भएको थियो । कांग्रेसले आफ्नो स्थापना दिवसमा कुनै विशेष कार्यक्रम भने गर्ने गरेको छैन । कांग्रेसले २००३ सालको नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको माघ १२ गतेलाई नै आधिकारिक पार्टीको स्थापना दिवसका रुपमा लिने गरेको छ ।
पार्टी स्थापना दिनकै अवसर पारेर प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस जन्मको उद्देश्य राजनीतिक कोणबाट पूरा भएको बताएका छन् । “जन्मको उद्देश्य राजनीतिक कोणबाट पूरा भएको छ, तर लोकतान्त्रिक संस्कृति स्थापित गर्ने तथा आफूले शुरु गरेको समृद्धि यात्रालाई लक्ष्यमा पु¥याउने मूल मिसन बाँकी नै छ,” प्रवक्ता शर्माले भने, “विगतको क्रमशः बिदाइ र नवीन अन्तर्विश्वासको जाँगरसाथ नवीन अध्याय प्रारम्भ गर्नुछ ।”
१०४ वर्ष लामो एकतन्त्रीय जहाँनीया राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था र राजतन्त्र कांग्रेसकै नेतृत्वमा समाप्त भएको थियो । पटक पटक परिवर्तनको नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । पछिल्लो समय भएका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने निराशाजनक परिणाम आएपछि कांगे्रस अहिले आन्तरिक कलहमा रुमल्लिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्