कांग्रेस नेताको उपचारका लागि नोवेल अस्पतालको सहयोग

विराटनगर- विराटनगरस्थित नोवेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति नारायणबहादुर कार्कीको उपचारका लागि १ लाख रुपैयाँ प्रदान गरेको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति नारायणबहादुर कार्कीको उपचारका लागि १ लाख रुपैयाँ प्रदान गरेको छ ।कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूमार्फत कार्कीलाई सहयोग उपलब्ध गराइएको हो । मंगलबार अस्पतालका निर्देशक सुनिल शर्माले १ लाख रुपैयाँको चेक मोरङ सभापति लिम्बूलाई हस्तान्तरण गरे । संघीय संसदको दोस्रो चरणको निर्वाचनमा उदयपुरबाट उम्मेदार बनेका कार्कीको चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइत भएका थिए । पूर्वसभापति कार्कीको हाल शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । कार्कीको उपचारमा समस्या भएपछि मोरङ कांग्रेसले सहयोग संकलन सुरु गरेको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने भने पनि सहयोग नपाइएको गुनासा कार्कीको परिवारले गरेको लिम्बूले बताए । चेक हस्तान्तरण समारोहमा कांग्रेस सभापति लिम्बूले कांग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइते उपचारमा लाग्नुपर्नेमा जोड दिए । निर्देशक शर्माले घाइते कार्कीको नोवेल अस्पतालमा उपचार गराए सम्पूर्ण खर्च निःशुल्क गर्ने बताए । “यहाँ उपचार गराए सबै सेवा निःशुल्क उपलब्ध गराउँछु,” शर्माले भने । पार्टी अभियानका क्रममा घाइते भए पनि कांग्रेसले उपचारमा बेवास्ता गरेको सभापति लिम्बूले बताए ।नोवेलले यसअघि पनि क्यान्सरपीडितलाई १ लाख रुपैयाँ प्रदान गरेको थियो ।