सचिवको सरुवा विधिसम्पन्न: लालबाबु «

सचिवको सरुवा विधिसम्पन्न: लालबाबु

विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरूको सरुवा विधिसम्पन्न र प्रक्रिया पूरा गरेर गरिएको बताएका छन् ।
सचिवको सरुवालाई लिएर माओवादी केन्द्रका मन्त्रीहरूले असन्तुष्टि जनाइरहेका बेला मन्त्री पण्डितले मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “सचिवको सरुवा विधि र प्रक्रिया पूरा गरेरै गरिएको छ । यसमा कसैले चित्त दुखाउनुको अर्थ छैन ।” उनले आफूले भनेकै सचिव हुनुपर्छ भन्ने सोच मन्त्रीहरूले राख्न नहुने बताए । “सचिव सरुवामा पनि यो मेरो त्यो तेरो भन्नु ठीक होइन,” पण्डितले भने ।
मन्त्री पण्डितले कर्मचारीले स्वेच्छिक अवकाश अधिकारको रुपमा मात्रै बुझेर नहुने बताए । खटाइएको ठाउँमा जानुपर्ने बताउँदै स्वेच्छिक अवकाश दिने नदिने विषयमा सरकारको निर्णय महत्वपूर्ण भएको उल्लेख गरे । काममा नजाने कर्मचारीको विवरण मागिएको र अन्यत्र हाजिरी गर्न नदिइने गरी सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूमा परिपत्र गरिसकिएको पण्डितले जनाए । “कटाइएको ठाउँमा नजाने कर्मचारी र त्यस्ता कर्मचारीलाई हाजिरी गराउने हाकिमलाई निजामती ऐनअनुसार कारबाही हुन्छ,” उनले थपे, “जनताको करबाट तलब खाएर जनताको सेवा गर्न जान्न भन्नु जनविरोधी गतिविधि हो । यस्ता गतिविधि टुलुटुलु हेरेर सरकार बस्दैन ।” खटिएको ठाउँमा कर्मचारी पठाउने र जाने क्रम सकिएपछि कर्मचारी समायोजन सुरु हुने पण्डितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्