विपन्नलाई घर हस्तान्तरण

झापाको मेचीनगरका विर्जा, सतार, राजवंशी र दलित समुदायका विपन्न परिवारलाई ५१ वटा घर हस्तान्तरण गरिएको छ ।
सहरा नेपाल र मेचीनगरका सम्बन्धित वडाको आर्थिक सहयोग तथा ह्याविटेड नेपालको प्राविधिक सहयोगमा ३५ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण गरिएका ५१ वटा घर विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो ।
मेचीनगर वडा नम्बर ११ मा ७ वटा, १२ मा २ वटा, १३ मा २८ वटा र १४ मा १४ वटा घर निर्माण गरिएको थियो । प्रत्येक वडाको नगद ५ हजार र सहरा नेपालको ६४ हजार गरी ६९ हजार रुपैयाँ प्रतिघर बराबर खर्च भएको वडा नम्बर १३ का अध्यक्ष कृष्ण सिग्देलले जानकारी दिए ।
आर्थिक वर्ष ०७३-७४ मा साविक दुहागढी र धाइजन गाविससँग सहरा नेपालले विपन्न समुदायको घर एक वर्षभित्रमा बनाउने सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नै समयमा घर निर्माण गरी जनताको घर हस्तान्तरण नामक कार्यक्रमको आयोजना गरी समुदायलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि विमल आचार्यलाई सहरा नेपालका निर्देशक महेन्द्र गिरिले नमुना घर हस्तान्तरण गरेका थिए भने आचार्यले सम्बन्धित वडाका वडाध्यक्षलाई हस्तान्तरण गरेका थिए । वडाध्यक्षहरूले सम्बन्धित परिवारलाई घर हस्तान्तरण गरेका छन् । वडा नम्बर १४ का वडाध्यक्ष शंकर पोखरलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहराका महेन्द्र गिरि, वडा नम्बर १३ कांग्रेसका वडा सभापति धु्रव ओली, वडा नम्बर १२ का अध्यक्ष नरेन्द्र धिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।