इन्धनको मूल्य र भण्डारण क्षमता «

इन्धनको मूल्य र भण्डारण क्षमता

नेपालमा इन्धन भण्डारण क्षमता वृद्धि गरी १ सय ७ दिन पु¥याउने भनिएको थियो, तर २०७२ को नाकाबन्दी खुलेपश्चात् क्षमता विस्तार कार्यमा कम ध्यान दिएको देखिन्छ । भारतमा ५० दिन, चीनमा १ सय ३५ दिन, इजरायलमा २ सय ७० दिन, दक्षिण कोरियामा २ सय ४० दिन, जापानमा १ सय ३७ दिन, अमेरिकामा १ सय २० दिन, स्विट्जरल्यानडमा ९० दिन, थाइल्याण्डमा ७० दिन र फ्रान्समा ५५ दिन इन्धन भण्डारण क्षमता रहेको देखिन्छ । यही सन्दर्भमा नेपालले आफ्नो इन्धन भण्डारण क्षमता र आपूर्ति अवस्थामा सुधार ल्याउन अत्यन्त आवश्यक देखिन्छ ।
नेपाल आयम निगमले थप ९० दिनलाई पुग्ने गरी सात प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने गरी योजना अगाडि बढाएको छ । हालसम्म निगमसँग देशका काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दिपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २ किलोलिटर मौज्दात राख्ने क्षमता छ । काठमाडांै उपत्यकामा दैनिक पेट्रोल साढे ३ सय किलोलिटर र डिजेल साढे ४ लाख किलोलिटर खपत हुन्छ । निगमसँग हाल देशको इन्धन ७१ हजार किलोलिटर मौज्दात क्षमतामध्ये पेट्रोल ५ हजार १ सय ८४ किलोलिटर, डिजेल ४२ हजार ४ सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण क्षमता छ । न्यून क्षमता भएका कारण कुनै वर्ष लामो समय इन्धन आपूर्तिमा भएको अवरोधले देशले ठूलो संकट भोग्दै आउनुपरेको छ । विगतमा उपभोक्ताले प्रतिलिटर रु. १ सयमा पाउने पेट्रोललाई रु. ७ सयसम्म तिर्नुपरेको थियो । चालू आर्थिक वर्षमा पनि भण्डारण क्षमता बढाउने कार्यक्रमको कार्यान्वयन भएको छैन । यसरी भण्डारण क्षमता नबढाउँदा मूल्य वृद्धि भई आपूर्ति कम भएका बेला निकै ठूलो समस्या हुने गरेको छ ।
विदेशी बजारमा इन्धनको मूल्य घटबढ भइरहन्छ । यसै अनुसार मूल्यको समायोजना हुने गरेको छ, तर विगतमा राजनीतिक कारण सरकारले आन्तरिक बजारमा मूल्य वृद्धि गर्न नसक्दा आपूर्तिमा समस्या आएको थियो । त्यस्तै नाकाबन्दीका कारण समस्या भएको थियो । त्यसैले भण्डारण क्षमता बढाउने नीति लिइएको थियो । तर, अहिले मूल्य समायोजन गर्न सजिलो भएको र नाकाबन्दी पनि नभएकाले यो विषयले त्यति चर्चा पाएको छैन । निरन्तर बढेको इन्धनको मूल्य पछिल्लो समय इरानले उत्पादन बढाउन थालेसँगै बाह्य बजारमा इन्धनको मूल्य घट्न थालेको बताइन्छ । तर, हालसालै अर्थात् माघ अन्तिम साता बाह्य बजारमा इन्धन मूल्य प्रतिब्यारेल ६५ डलर पुगेको अवस्थामा निगमले माघ पहिलो सातामा प्रतिब्यारेल बाह्य बजार इन्धन मूल्य ६९ कायम भएको बेला भविष्यमा प्रतिब्यारेल ८० डलर पुग्ने आशंका राखी माघको पहिलो साता नेपालमा इन्धनको मूल्य बढेको थियो । अहिले स्वचालित मूल्य प्रणाली छ भन्दा हुन्छ । त्यसैले रूसले बाह्य बजारका लागि इन्धन उत्पादन घटाउने घोषणा गरेपछि इन्धनको मूल्य प्रतिब्यारेल ६९ बाट ७० डलर पुगेको देखिन्छ । बाह्य बजारमा प्रतिब्यारेल इन्धन मूल्य १ डलर बढेपछि आयल निगमले नेपालमा पनि मूल्य बढाएको छ; तर विडम्बना, नेपालको तेलको मूल्य भारतमा भन्दा सस्तो परेका बेला सीमाबाट तस्करी पनि हुने गरेको छ ।
बाह्य बजारमा निरन्तर रूपमा गत अक्टोबरदेखि इन्धनको मूल्य बढिरहेको अवस्थामा सोहीअनुसार भारतले पनि मूल्य वृद्धि गरेर नेपालमा इन्धन पठाउने गरेकाले नेपाल आयल निगमले पनि बाह्य बजारमा इन्धनको मूल्य घटे पनि नेपालमा नघटाई निरन्तर रूपमा इन्धनको मूल्य बढाउँदै आएको देखिन्छ । पछिल्लो दुई महिनामा आयल निगमले पाँच पटक इन्धनको मूल्य बढाएको छ । फलस्वरूप हाल नेपालमा पेट्रोल प्रतिलिटर रु. १ सय पाँच पुगेको छ । त्यसैले मूल्यमा जतिसुकै उतारचढाव आए पनि त्यसलाई सन्तुलन राख्न भण्डारण क्षमता बढाउनुको विकल्प देखिन्न ।

प्रतिक्रिया दिनुहोस्