भूकम्प प्रभावितका २८ सय घर पुनर्निर्माण «

भूकम्प प्रभावितका २८ सय घर पुनर्निर्माण

दोलखा, काभ्रे र सिन्धुपाल्चोकमा कारितास नेपालले भूकम्पबाट क्षतिग्रस्त २ हजार ८ सय भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माण गरेको छ ।
कारितास अन्तर्राष्ट्रियको सहयोगमा दुई वर्षअघि सुरु गरेको नेपाल भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन जिल्लाका ६ गाउँका २ हजार ७७३ घरधुरी पुनर्निर्माण गरेको हो । “पहिलो चरणमा तीन जिल्लाका ६ स्थानका ४ हजार ८२५ घरधुरी पुनर्निर्माण गर्ने लक्ष्य राखेकोमा हालसम्म २ हजार ७७३ घरधुरी पुनर्निर्माण सकिएको छ ।” कारितासका कार्यक्रम प्रबन्धक महेन्द्र मल्लले सोमबार ललितपुरमा आयोजित नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमको उपलब्धि र असल अभ्यास विषयक सम्मेलनमा भने । कारितासले गरेको कार्यक्रमबारे जानकारी दिँदै उनले लक्षित गरिएको घरधुरीमध्ये ९० प्रतिशतभन्दा बढी प्रभावितको घर पुनर्निर्माणको कामअघि बढेको छ ।
पहिलो चरणमा दोलखाको ओराङ र वुलुङ, काभ्रेको बल्थली र चण्डेनीमण्डन तथा सिन्धुपाल्चोकको ठोकर्पा र कालिकामा सुरु गरेको पुनर्निर्माणअन्तर्गत निजी आवास पुनर्निर्माणको काम अघि बढाएको कारितास नेपालले जनाएको छ । यी स्थानका ४१५ मनोवैज्ञानिक रूपमा अपांग भएका घरधुरीको निजी घरसमेत पुनर्निर्माण गर्न लागेको छ । कारितासले दोस्रो चरणमा सिन्धुलीको हरिपुर गढी र गोलाञ्जरका साथै दोलखाको शैलुङ, सिन्धुपाल्चोकको सुनकोसी तथा काभ्रेको सानोवाङथली र नागर्चे गाउँमा समेत थप ३ हजार घरधुरी पुनर्निर्माण अघि बढाउन लागेको छ । “चार जिल्ला अपांग परिवारबाहेकका गरी ७ हजार ८२५ घरधुरी पुनर्निर्माण अघि बढाएको छ, यीमध्ये आधा जति पुनर्निर्माण सम्पन्न हुन लागेका छन्,” कारितास नेपालका कार्यकारी निर्देशक केबी बोगटीले भने, “कारितासले भूकम्पपछि क्षतिग्रस्त समुदायमा पुगेर ४ हजार ९४६ घरधुरीमा खानेपानी र सरसफाइ, ८ हजार ३८६ घरधुरीमा जीवीकोपार्जन कार्यक्रमअघि बढाएको छ ।” जीवीकोपार्जन अन्तर्गत पूर्वाधार सु्धार, खानेपानी र सिँचाइ, तरकारीखेती, सहकारी र सहकारीका सदस्यहरूको क्षमता अभिवृद्धिलगायतका कार्यक्रम अघि बढाएको कारितासले जनाएको छ ।
सम्मेलनमा बोल्दै समाज कल्याण परिषद्का सदस्य–सचिव डिल्लीप्रसाद भट्टले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्थाले आफ्नो लक्ष्यअनुसारको उपलब्धि हासिल गर्नका लागि इमान्दारिताका साथ लाग्नुपर्ने बताए । प्रतिनिधिसभाकी सदस्य नवीना लामाले प्रभावितलाई लाभान्वित हुने गरी पुनर्निर्माणको कामअघि बढाउनु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्