बर्दियाका सहकारी हस्तान्तरण

बर्दिया- बर्दियामा दर्ता भई सञ्चालनमा रहेका ३ सय ५६ सहकारी संस्था स्थानीय तहमा हस्तान्तण गरिएको छ । जिल्लामा सक्रिय रहेका ४ सय १ मध्ये ३ सय ५६ सहकारीलाई जिल्लाका ८ वटा स्थानीय तहमा हस्तान्तण गरिसकिएको छ भने ४५ वटा सहकारीलाई प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गर्ने तयारी थालिएको छ ।
डिभिजन सहकारी कार्यालय बर्दियाका अनुसार जिल्लाका एउटा स्थानीयतहमा मात्र कार्यक्षेत्र भएका सहकारी जिल्लास्थित स्थानीय तहमा र एकभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीलाई प्रदेशमा हस्तान्तरण गरिएको हो ।
हस्तान्तण गरिएका सहकारीको सामूहिक सेयर ४१ करोड ५० लाख २९ हजार ९ सय १८ रुपैयाँ रहेको छ भने बचत २ अर्ब २७ करोड ९५ लाख ९ हजार ५ सय ७० र जगेडा कोष ३० करोड ४१ लाख ४३ हजार ३ सय ९० रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै बाह्य ऋण २ अर्ब ६ करोड २० लाख ४७ हजार ७ सय १८ र सदस्यमा लगानी भएको ऋण ३ अर्ब १० करोड १४ लाख ९० हजार ८ सय ९२ रहेको डिभिजन सहकारी कार्यालय बर्दियाका निमित्त प्रमुख कृष्णप्रसाद भट्टराईले बताए ।
हस्तान्तण भएका ३ सय ५६ मध्य गुलरिया नगरपालिकामा रहेका ५६ मध्ये ४७, राजापुरका ५१ मध्य ५०, बढैया गाउँपालिकाका ५७ मध्य ५२, मधुवनका ४३ मध्य ३३, बाँसगढीमा ५० मध्य ४२, ठाकुरवावामा ४७ मध्य ३७ र गेरुवामा रहेका ४० वटा सहकारी संस्था छन् । बाँकी प्रदेशमा हस्तान्तणको तयारी भइरहेको रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी एकभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका गुलरियाका ९, मधुवनका १०, बासगढीका ८, ठाकुरवावाका १० बढैयातालका ५ र राजापुरको एउटा गरी कुल ४५ वटा सहकारी संस्था प्रदेशस्थित रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गर्ने तयारी थालिएको छ ।
जिल्लामा सञ्चालमा रहेका सहकारीमा ८६ हजार ९ सय ५ महिला र ४८ हजार २ सय २० पुरुष गरी १ लाख ३५ हजार १ सय २५ जना सेयर सदस्य छन् भने ती संस्थामा करिव ६ सय जनाले रोजगारी पाएका छन् । यस आवमा निष्क्रिय अवस्थामा रहेका १० वटा सहकारी संस्था खारेजीमा परेका छन् । डिभिजन सहकारी कार्यालय बर्दियामा आवद्ध भई दुई आर्थिक वर्षदेखि निष्क्रिय अवस्थामा रहेका विभिन्न सहकारी संस्था खारेजीमा परेका हुन् ।
खारेजीमा परेका सहकारीले आर्थिक कारोबारको वार्षिक प्रगति विवरण, वार्षिक लेखापरीक्षण प्रतिवेदन र साधारणसभाको निर्णय नियमित रुपमा कार्यालयमा पेश नगर्ने गरेकाले ती सहकारी संघसंस्थालाई खारेज गरिएको डिभिजन सहकारी कार्यालय बर्दियाले जनाएको छ ।
खारेजी भएका सहकारी संस्थामा कृषि सहकारी ७ वटा छन् भने बचत तथा ऋण, उपभोक्ता र दुग्ध उत्पादक १÷१ वटा गरी १० वटा छन् ।