पढाइ सकेपछि रकम फिर्ता

निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पढाइमा खर्च गरेकोे रकम फिर्ता पाइन्छ भन्दा धेरैले विश्वास गर्दैनन् ।
तर जिल्लामा रहेको एक निजी विद्यालयले पढाइ सकिएसँगै रकमसमेत फिर्ता गर्ने जनाएको छ । घोराही उपमहानगरपालिका–१५ मा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई पढाइ सकिएसँगै विद्यार्थीले विद्यालयमा खर्च गरेको रकम फिर्ता गर्ने जनाएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले १५ वर्षपछि उसले तिरेको मासिक शुल्क पुरै फिर्ता पाउने विद्यालयका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले बताए । तर १५ वर्षअघि भने पूरै मासिक रकम फिर्ता पाउने छैनन् ।
उनका अनुसार ५ वर्षअघि नै विद्यालय छाडेमा रकम फिर्ता नपाउने निर्देशक शर्माले बताए । ६ वर्षदेखि १० वर्षसम्म भएमा १५ प्रतिशत रकम फिर्ता पाउने छन् । त्यसैगरी ११ वर्षदेखि १४ वर्षसम्ममा ३० प्रतिशत रकम फिर्ता पाउने छन् । १५ वर्ष पूरा भएका विद्यार्थीहरूले अध्ययन गर्दा तिरेको मासिक शुल्क पूरै नै फिर्ता हुने शर्माले बताए । विद्यार्थीले विद्यालयमा मासिक रूपमा तिरेको रकम सबै विद्यार्थीहरूको छुटाछुटै राखिने विद्यालयले जनाएको छ । यस प्रकारको पढाइमा खर्च भएको रकम फिर्ता गर्ने नयाँ सुरुवात हो । “१५ वर्षपछि रकम फिर्ता गरेपछि विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने समेत सहज हुनेछ,” निर्देशक शर्माले भने । एउटा विद्यार्थी नर्सरीबाट पढाइ सुरु गरेपछि १२ कक्षासम्म अध्ययन गर्दासम्म १५ वर्ष पुगिसक्ने समेत निर्देशक शर्मा बताउँछन् । १२ कक्षा पास गरेपछि विद्यार्थीले रकम फिर्ता पाउने भएपछि उसलाई उच्च शिक्षा हासिल गर्ने रकमको समस्या नपर्ने उनको भनाइ छ । “हामीले विद्यार्थीबाट लिएको रकम आत्मनिर्भर क्षेत्रमा लगानी गरेर रकम फिर्ता गर्ने योजना बनाएका हौ,” निर्देशक शर्माले भने । २०७४ सालदेखि घोराही क्षेत्रका युवा मिलेर विद्यालय सञ्चालन गरेका थिए । “धेरै विद्यालय रहेको स्थानमा हामीले नयाँ सोचका साथ अगाडि बढाउन खोजेका छौं,” शर्माले भने ।
विद्यालयले प्रविधि अंगाल्दै अगाडि बढेको समेत जनाएको छ । विद्यालयका सबै कक्षामा नेट तथा मल्टी मिडियाको प्रयोग गरेर पढाइ सञ्चालन गरिएको शर्माले बताए । विद्यालयमा हरेक गतिविधि सिसी टिभिबाट निगरानी गरिने गरेको छ । विद्यार्थीहरूलाई संस्कृति र संस्कारसँग जोडेर अगाडि बढाइएको विद्यालयले जनाएको छ । विद्यालयमा हरेक दिन बिहानको समय योग तथा मेडिटेसन कक्षाहरू सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले बताए । उनका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य कक्षा तथा अन्य विभिन्न खेल्कुदसमेत सिकाइने गरेको छ । बालबालिकाहरूलाई स्वास्थ्यमा ध्यान दिएर नियमित निःशुल्क स्वास्थ्य परीक्षण तथा बालमनोविज्ञानमा आधारित बालमैत्री दण्डरहित शिक्षा प्रदान गर्दै आएको विद्यालयले जनाएको छ ।
–अमरराज आचार्य