खेलाडीका लागि होस्टल «

खेलाडीका लागि होस्टल

हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानमा करिब चारवर्षपछि खेलाडी बस्ने होस्टल तयार भएको छ । चार करोड रुपैयाँ लागतमा ३६ कोठे पुरुष होस्टल निर्माण भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको उक्त होस्टलमा ६० जना अट्ने क्षमता छ । “होस्टल तयार भयो, अब खेलाडीलाई दैनिक प्रशिक्षण गर्ने कभर्ड हल र खानाका लागि क्यान्टिन निर्माण जरुरी रहेको छ,” जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहाल ‘खुशराज’ले भने ।
नेपाली खेलकुदको सबैभन्दा महत्वकांक्षी योजनाको रूपमा रहेको गौरीटार रंगशालाको राष्ट्रिय खेलकुद परिषद्ले शिलान्यास भएको आठ वर्षमा छ करोड रुपैयाँमात्र लगानी गरेको छ । हालसम्म राष्ट्रिय खेलकुद परिषद्को नाममा रहेको २३ बिघा जग्गामा कम्पाउन्ड घेर्ने र रंग लगाउने कार्यमा दुई करोड रुपैयाँ र पुरुष होस्टल निर्माणमा चार करोड रुपैयाँ गरी कुल छ करोड रुपैयाँ बराबरको भौतिक संरचना तयार भएको छ ।
करिब पाँच अर्ब लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ २०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले एकेडेमीको शिलान्यास गरेका थिए । नेपालको सरकारबाहेक हालसम्मका सरकारहरूले एकेडेमीका लागि बजेट छुट्याएका छैनन् । “सरकारले रंगशालाको लागि पर्याप्त बजेट छुट्याएन, रंगशालामा राखेप, प्रदेश सरकार र केन्द्रीय सरकारले समेत चासो देखाएकाले आगामी वर्ष चाहिँ बजेट बढेर आउला,” खेलकुद विकास समितिका सचिव दाहालले भने ।
माघ अन्तिम साता उक्त स्थानमा राष्ट्रिय खेलकुद परिषद्ले कभर्ड हलको शिलान्याश गरिसकेको छ । आगामी साउन महिनाबाट एसियन खेल सहभागी हुने तीन टीमका खेलाडीहरूलाई गौरीटारमा निर्माण भएको होस्टलमा राखेर अभ्यास गर्ने ठाउँका लागि कभर्ड हल निर्माण गर्ने बताइएको छ । गत आव र चालू आवमा सरकारले बजेट नछुट्याएपछि यस आवमा निर्माण गर्ने भनिएको महिला होस्टल र कभर्डको काम अगाडि बढ्न सकेको छैन । निर्माण हुँदै गरेको केन्द्रीय प्रतिष्ठानमा स्र्पोट्स युनिभर्सिटीका रूपमा अगाडि बढाउने प्रस्ताव गरिको थियो ।
सोही स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गासमेत अवलोकन गरिएको छ । नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता एक दिवसीय मान्यता प्राप्त गरेसँगै धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरी जग्गा अवलोकन गरिएको थियो । हेटौंडा ३ नम्बर प्रदेशको राजधानी भएका कारण पछिल्लो समय स्तरीय खेल मैदानको टड्कारो आवश्यकता महसुस गर्न थालिएको छ ।
स्थानीय क्लबसँग जग्गा विवाद हुँदा प्रतिष्ठानको काम करिब एक वर्ष रोकिएको थियो । खेलकुद क्षेत्रलाई सरकारले बेवास्ता गरेको गुनासो सरोकारवालाले उठाइरहेका बेला शिलान्यास गरिएको एकेडेमी देशको सबैभन्दा बढी लगानी रहेको खेलकुद योजना हो । निर्माण सम्पन्न भएपछि खेलाडीमा भएको खेलकला पहिचान गरेर तिखार्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सरकारको छ ।
केशव समर्पण

प्रतिक्रिया दिनुहोस्