विद्युत् सुरक्षा दिवसमा प्रभातफेरि, विद्युतीय दुर्घटनामा तेस्रो पक्ष बीमा : ऊर्जामन्त्री

‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायति उपयोग : समृद्धिका लागि विद्युत्को उत्पादनशील प्रयोग’ भन्ने नारासहित सोमबार विद्युतीय सु्रुक्षा दिवसको अवसरमा प्रभातफेरि आयोजना गरिएको छ ।
विद्युतीय सुरक्षाका विषयमा जानकारी दिनका लागि आयोजना गरिएको प्रभातफेरि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कबाट सुरु भएर भद्रकाली, सुन्धारा, न्यूरोड गेट हुँदै रत्नपार्क पुगेर टुंगिएको थियो । नेपाल विद्युत् प्राधिकरण र सोसाइटि अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त आयोजनामा गत वर्षबाट विद्युतीय दुर्घटनाबारे जनचेतना दिन हरेक वर्ष २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउन सुरु गरिएको थियो ।
प्रभातफेरिपछिको कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा न्यायोचित हुने बताए । “यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दुर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्,” उनले भने, “यसलाई विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुनसक्छ, यसतर्फ अगाडि बढ्नु पर्छ ।” मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा अनिवार्य भएको उल्लेख गर्दै विकसित नवीनतम् तथा गुणस्तरीय प्रविधिको प्रयोगमार्फत सुरक्षित विद्युत् प्रयोग गर्नेतर्फ सबै सचेत हुनुपर्नेमा उनको जोड थियो ।
ऊर्जासचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत् वरदान भए पनि यसमाथि गरिने सानो लापरबाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरित्त वित्तीय बोझ बढेको बताउँदै सुरक्षात्मक उपाय अपनाउँदा मानवीय क्षति घटेसँगै प्राधिकरणको वित्तीय अवस्था सुधार्न सकिने बताए ।
प्राधिकरण वितरण सेवा तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले प्राधिकरणकै कर्मचारीको मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेको बताए ।
प्राधिकरणका अनुसार, २०६८ असारबाट हालसम्म सात सय ५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिक रूपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षासम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेको तथ्यांक छ ।
हावाहुरी, चट्याङजस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत् चोरी, जनचेतना अभावआदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ ।