आउँदै गरेका १० शक्तिशाली विद्युतीय एसयूभी

अबको समय विद्युतीय सवारीकै हो भन्नेमा कुनै शंका रहेन । तर शक्तिशाली विद्युतीय सवारी बनाउनमा भने कम्पनीहरूले नै चुनौती ठानेका छन् । पूर्ण रुपमा विद्युतीय सवारी उपयोगमा आउने अवस्थामा अहिलेको जस्तो सामान्य सहरी क्षेत्रमा मात्र कुद्न सक्ने सवारीले उपभोक्ताको चाहना पूरा नगर्न सक्छ ।
त्यसैले सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारीलाई शक्तिशाली बनाउन ठूलो धनराशी लगानी गरेका छन् । त्यसको परिणामहरू देखिन थालेको छ । विद्युतीय सवारी पहिलो पुस्तामा साना सवारीकै बाहुल्यता रहेको छ । अब आउने नयाँ पुस्ताको विद्युतीय कार पुराना ग्यासोलिन इन्जिनयुक्त सवारी सरह शक्तिशाली व्याट्रि प्रयोग हुने बताइएको छ ।
विद्युतीय सवारी अटो उद्योगको भविष्य हो भने त्यसको प्रतिनिधित्व एसयूभीले गर्दछ । पछिल्ला वर्षहरूमा कार सेगमेन्टमा विश्व अटो बजारमै एसयूभीको हिस्सा उल्लेखनिय रुपमा वृद्धि हुँदै भएको छ । विद्युतीय सवारीको क्षेत्रमा करिब स्थापित कम्पनी र उदाउँदै गरेका नयाँ विभिन्न कम्पनीले सन् २०१८ को अन्त्यदेखि २०२० सम्ममा ल्याउने योजना बनाएका शक्तिशाली विद्युतीय एसयूभी (स्पोर्टस युटिलिटी भेइकल) यस्ता छन् :
जगुअर आइ–पेस
जगुअर कम्पनीले सन् २०१८ को दोस्रो अर्धवार्षिकमा सार्वजनिक गर्ने जनाएको छ । यो कार टेस्लाको मेलड एक्ससँग प्रतिस्पर्धी हुनेगरी डिजाइन गरिएको छ । आइ–पेसमा ४ सय हर्सपावरको इन्जिन रहने छ । ५ सय १६ पाउन्ड–फिटको टर्क रहेको यो कारले चार सेकेन्डमै ०–६० माइलेज प्रतिघण्टाको दूरि तय गर्ने छ ।
टेस्लाको मोडल वाइ
पछिल्लो समय विद्युतीय सवारीको क्षेत्रमा सर्वाधिक चर्चामा रहेको कम्पनी हो टेस्ला । टेस्लाले विभिन्न मोडलका विद्युतीय सवारीहरू सार्वजनिक गरिसकेको छ । कम्पनीले ल्याउने भनेको मोडल वाइको चर्चा भएपनि त्यसको विवरण भने सार्वजनिक भइसकेको छैन । टेस्लाले यो मोडल २०२० को अन्त्यसम्ममा बजामा ल्याउने योजना बनाएको छ ।
अडी इ–ट्रोन क्वाट्रो
अडीले आफ्नो इलेक्ट्रिक एसयूभी इ–ट्रोन क्वाट्रो २०१९ मा अमेरिकामा सार्वजनिक गर्ने जनाएको छ । तर त्यस भन्दा पहिले कम्पनीले यो कार युरोपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो कारले फुल चार्जमा ३ सय माइलभन्दा धेरै गति तय गर्ने दाबी अडीको छ ।
फक्सवागन आइडी क्रोज
फक्सवागनले २०२० सम्ममा आइडी क्रोज कम्सेप्टमा आधारित रहेर इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने जनाएको छ । आइडी क्रोज ३ सय २ हर्स पावरको हुने र एक चार्ज गर्दा ३ सउ माइलसम्म कुद्ने अनुमान गरिएको छ । यो सेल्फ ड्राइभिङसम्म हुनसक्ने अनुमान गरिएको छ ।
मर्सिडिज–बेन्ज इक्यूसी
मर्सिडिज बेन्जले इक्यू विद्युतीय कार ब्रान्ड अन्तर्गत २०१९ मा इक्यूसी एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार इक्यूसीमा दुईवटा विद्युतीय मोटर हुने छन् जसले ३ सय केडब्लू पावर उत्पादन गर्नेछ । त्यस्तै यो कारले ०–६० को माइल प्रतिघण्टा ५ सेकेन्ड भन्दा कम समयमा तय गर्नेछ ।
बीएमडब्लू एक्सथ्री
बीएमडब्लूले एक्सथ्री भर्सनमा पूर्ण विद्युतीय कार २०२० देखि उत्पादन थाल्ने भएको छ । कम्पनीले २०१८ मा सार्वजनिक गरेको ग्यास–पावर्ड एक्सथ्री अपग्रेड गरेको थियो । तर कम्पनीले सोही मोडलमा ल्याउने विद्युतीय सवारीको विस्त्रित विवरण सार्वजनिक गरि सकेको छैन ।
फराडे फ्यूचर
२०१८ को अन्त्यसम्ममा फराडे फ्यूचरले एफएफ९१ एसयूभी बजारमा ल्याउने जनाएको छ । यो अमेरिकी कम्पनी २०१४ मा स्थापना भएको हो जसले इन्टेलिजेन्स इलेक्ट्रि भेइकल बनाउनमा केन्द्रीत हुने जनाएको छ । एफएफ९१ १ हजार ५० हर्सपावरयुक्त हुने छ भने ०–६० माइल पर आवरको गति २.३९ सेकेन्डमै तय गर्नेछ ।
बाइटन एसयूभी
चिनियाँ विद्युतीय कार उत्पादन नयाँ कम्पनी वाइटनले २०१९ सम्ममा विद्युतीय एसयूभी बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले स्वचालित रुपमा चल्न सक्ने कार उत्पादन गरिरहेको जनाइएको छ ।
हुन्डाइ कोना
दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाइले विद्युतीय एसयूभी कोना ल्याउने यस अघि नै घोषणा गरि सकेको छ । सुरुमा कोना युरोप र दक्षिण कोरियामा सार्वजनिक हुने छ । अन्य बजारमा कहिले सार्वजनिक हुन्छ भन्ने हुन्डाइले बताइसकेको छैन । कोना २ सय ५० माइलको रेन्जमा उपलध हुनेछ ।
एसएफ मोटर्स एसएफ५
अमेरिकामा २०१६ को जनवरीमा स्थापना भएको एसएफ मोटर्सले गत महिना भएको न्यू योर्क इन्टरनेशनल अटो सोमा विद्युतीय एसयूभी उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । एसएफ५ को उत्पादन २०१९ देखि हुने कम्पनीले जनाएको छ । यो कार १ हजार हर्सपावरको हुनेछ ।