उपभोक्ता अधिकारका विषयमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र चिनियाँ प्रतिनिधिबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएकोे छ । स्टेट एडमिनिस्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार मन्त्री यादवलाइ भेटेर सो विषयमा छलफल गरेको हो ।
सो अवसरमा मन्त्री यादवले नेपालमा राजनीतिक संक्रमण अन्त्य भइ आर्थिक समृद्धि र विकासमा अघि बढेको बताए । चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै मन्त्री यादवले नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रह गरे । गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिस्ट्रेसन फर इन्डस्ट्री एन्ड कमर्सबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने विषयलाई मन्त्री यादवले जोड दिए । उपभोक्ता हितका विषयमा दुई देशबीचका कानुनका विषयका जानकारी आदान प्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाई राख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवको भनाई छ ।
कार्यक्रममा चिनियाँ उपमन्त्रीले चीन–नेपालबीच हजारौं वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताउँदै दुई देशबीचको सहकार्यले एकअर्काको भाग्य निर्माण हुने धारणा राखे । बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरेको मन्त्रालयले जानकारी दिएको छ ।