अन्तःशुल्क इजाजतबिना टाइगर प्यालेशमा मदिराको कारोबार «

अन्तःशुल्क इजाजतबिना टाइगर प्यालेशमा मदिराको कारोबार

वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे टाइगर प्यालेश रिसोर्टमा सञ्चालित क्यासिनोभित्र मदिराको कारोबारका लागि अन्तःशुल्क इजाजत नलिई कारोबार गर्दै आएको भेटिएको छ । अन्तःशुल्क इजाजत नलिई कारोबार गरेको भन्दै आन्तरिक राजस्व कार्यालय भैरहवाले आइतबार क्यासिनोमा रहेका बिभिन्न ब्रान्डका १२१ बोतल मदिराहरू नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका बिभिन्न थरीका थोरै–थोरै पिस तर उच्च कोटीका विदेशी बियर, वाइन, ह्वीस्कीलगायत छन् । क्यासिनो एसएजएल म्यानेजमेन्ट सर्भिस( सिल्भर हेरिटेज लिमिटेड)को नाममा दर्ता छ । टाइगर प्यालेशमा रहेको क्यासिनोले कारोबार स्थलकै क्षेत्रमा रहेको आन्तरिक राजस्व कार्यालयबाट मदिराको कारोबारका लागी अन्तःशुल्क अनुमति लिई सञ्चालन गर्नुपर्नेमा त्यसो नगरेको पाइएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । तत्काल अनुमति लिएर दर्ता गर्न निर्देश दिएका छौं, सोमबार आउने बताएका थिए अनुमतिपत्रका लागि तर कार्यालय समय भित्र आएनन, ढकालले भने । अन्तःशुल्क अनुमति नलिएपछि अनुसन्धानमा आएको टाइगर प्यालेश रिसोर्टको क्यासिनो बन्द भने छैन।
अन्तःशुल्क ऐन २०५८ को दफा ९(१) तथा मदिरा ऐन २०३१ को दफा ६(१) अनुसार इजाजत लिएर मात्र मदिराको बिक्री तथा वितरणको व्यवसाय गर्न पाइन्छ । अन्तःशुल्क अनमुति नलिएको क्यासिनोलाई प्रावधानअनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरीबाना हुने प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । अन्तःशुल्क इजाजतका लागि भने होटल रिसोर्टको स्तरअनुसार बर्गीकरण गरिएको हुन्छ । टाइगर रिसोर्टको क्यासिनोले सञ्चालन गर्नु पूर्वनै अन्तःशुल्क इजाजत लिनुपर्नेमा नलिई सञ्चालन गरी कानुनको खिल्ली उडाएको पाइएको छ । क्यासिनोमा खेल्न आउनेहरूको मनोरञ्जनका साथै खाने पिउने व्यवस्था क्यासिनोले निःशुल्क रूपमा उपलब्ध गराउछ । मदिरा त्यहा आउनेहरूको प्रयोजनका लागि हुन्छ । विदेशी लगानी रहेको सिल्भर हेरिटेज समूहको स्वामित्वमा रिसोर्ट तथा क्यासिनो छ । ४ महिना अघिबाट सञ्चालनमा आएको यो रिसोर्टमा ३ सयभन्दा बढीले अहिले रोजगार पाइरहेका छन् । रिसोर्टमा वैदेशिक कामदारहरू पनि रहेको र उनिहरूले श्रम इजाजत नलिई काम गरेको खबर यसअघि बाहिर आइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्