वैशाख १ गतेबाट पचालझरना महोत्सव हुने «

वैशाख १ गतेबाट पचालझरना महोत्सव हुने

पचाल झरना गाउँपालिकाले नेपालकै अग्लो भनिएको झरना पचाल झरनाको प्रचार–प्रचारका लागि वैशाख १ गते पचालझरना महोत्सव गर्न लागेको हो । पचाल झरनाको प्रचार–प्रसारका लागि वैशाख १ गतेदेखि ५ गतेसम्म महोत्सवको आयोजना गरिएको हो । 

गाउँपालिकाले महोत्सवमा पचाल झरनाको प्रचार प्रचार यहाँको चिनारी दिने उद्देश्य लिएको छ । प्रदेश सरकारले कर्णाली पर्यटन वर्ष घोषणा गरेको र पर्यटन वर्षभित्र नै पचाल झरनाको प्रचारका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खड्क सेजुवालले बताए । “प्रदेश सरकारले कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ ।” उनले भने, “पर्यटन वर्षलाई सफल पार्नका लागि पचाल झरना महोत्सवको आयोजना गरिएको हो ।” 

महोत्सवमा करिब २० हजार मानिसहरूले पचाल झरनाको अवलोकन गराउने लक्ष्य राखिएको गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपानेले बताइन् । “महोत्सवमा करिब २० हजार मानिसहरूले झरनाको अवलोकन गराउने लक्ष्य गाउँपालिकाले लिएको छ ।” उनले भनिन्, “झरनाकाबारे देशभर प्रचार पनि यसै अवधिमा गरिने छ ।”

महोत्सवमा स्थानीय खानाका परिकार, भेषभूषा, कला साहित्यहरू प्रदर्शनी गरिने गाउँपालिकाले जनाएको छ । पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिएपछि पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको दाबी गरिएको छ । 

पचालझरनाको वास्तबिक उचाइ ३८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए । “यसअघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, ह्यातुङभन्दा पचाल झरनाको उचाइ १६ मिटर बढी अग्लो पाइएको हो ।” उनले भने, “वास्तबिक उचाइ पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरूमा परेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्