‘श्वेतपत्र होइन, निराशाको लालपत्र’ «

‘श्वेतपत्र होइन, निराशाको लालपत्र’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको श्वेतपत्र ‘अबौद्धिक र अव्यावसायिक मुचुल्का’ भएको ठहर गर्दै त्यसलाई निराशाको ‘लालपत्र’को संज्ञा दिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले चैत १६ गते सार्वजनिक गरेको आर्थिक श्वेतपत्रमाथि ९ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको हो ।
पार्टी नेता खुमबहादुर खड्काको निधनमा पार्टी शोकमा रहेको र प्रधानमन्त्री केपी ओलीसमेत भारत भ्रमणमा रहेकाले उनी फर्किएलगत्तै आफ्नो धारणा सार्वजनिक गरेको कांग्रेसले जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेको श्वेतपत्रमाथिको २४ बुँदे धारणामा सरकारको आर्थिक श्वेतपत्रलाई लालपत्रको संज्ञा दिइएको छ । सरकारले जानाजान अर्थतन्त्रलाई नकारात्मक देखाउने गरी आफू अनुकूल तथ्यांक समेटेर श्वेतपत्र जारी गरेको भन्दै प्रवक्ता शर्माले श्वेतपत्रलाई ‘अबौद्धिक र आव्यवसायिक मुचुल्का’ भएको बताए । सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहित सन्दर्भ गाँसी श्वेतपत्र जारी गरेको कांग्रेसको आरोप छ ।
“तुलनात्मक रुपले सहज राजनीतिक वातावरण नयाँ सरकारलाई प्राप्त हुनु समृद्धिको दिशामा अत्यन्तै सुनौलो अवसर हो, यो तथ्यमा कसैको पनि विमति नरहला । नयाँ नेतृत्वले निकट विगतका प्रति आलोचनात्मक चेत प्रस्तुत गर्नु अलग कुरा तर नैतिक इमान्दारिता भन्दा पर गएर संगतीरहित सन्दर्भहरु गाँसेर असन्तुलित रुपमा तथ्यांकहरु श्वेतपत्रमा जो प्रस्तुत भएको छ, त्यसलाई ‘अबौद्धिक र अव्यवसायिक मुचुल्का’ ठहर गर्नु पर्ने प्रारम्भिक स्थिती बन्दछ ।” सरकारले अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजरअन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशा छरेको भन्दै त्यसलाई चिर्न पत्रकार सम्मेलन गरिएको पनि शर्माले बताए । सरकारले राज्यले हालसम्म गरेका आर्थिक उपलब्धिलाई नकार्ने र शून्यबाट समृद्धिको शुरुवात गर्न लागेको भ्रम दिन खोजेको कांग्रेसको ठहर छ । बितेको २५ वर्षमा ६२ गुणाले राजश्व वृद्धि भएको, पञ्चायती व्यवस्था ढल्दै गर्दा १२ अर्बको राजश्व रहेकोमा अहिले ७ सय अर्बमाथिको आकार बढेको तथ्यलाई सरकारले भुलेको कांग्रेसको आरोप छ । “विगत १० वर्षमा मुलुकको अर्थतन्त्र बढी बिग्रिएको चर्चा श्वेतपत्रमा गरिरहँदा के स्मरण गरिनै पर्दछ भने यो दशकमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिष्ट प्रधानमन्त्रीले वा अर्थ मन्त्रालयमा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेका थिए,” कांग्रेसले भनेको छ, “७६ प्रतिशत बढी समय गैरकांग्रेसी नेतृत्वले यो १० वर्षमा मुलुकको नेतृत्व गर्दा जे जति वेथिती भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौं, तर दुई तिहाइ अंश भने कम्युनिष्ट दलहरुकै भागमा पर्ने तथ्य हामी यहाँ प्रष्ट्याउन चाहन्छौं ।” कांग्रेसले श्वेतपत्र जारी भएपछि मुलुकको ढुकुटी रित्तो भएको सन्देश दिन खोजिएपनि यो सरकार बन्दा ३ खर्बभन्दा वढी राष्ट्रको ढुकुटीमा मौज्दात रहेको र १० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिती रहेको उसले जनाएको छ । त्यस्तै सेयरबजार घट्नुमा कम्युनिष्ट दर्शनले विश्वास गर्ने राज्य नियन्त्रित अर्थव्यवस्था तर्फ होइन, कांग्रेसले विश्वास गर्ने उदार अर्र्थतन्त्रकै बाटोमा नयाँ सरकार हिँड्नेछ भनेर बजारलाई समयमै आश्वस्त तुल्याउन नसक्नु कारक रहेको कांग्रेस निष्कर्ष छ ।
“श्वेतपत्रले हाम्रो अर्थतन्त्रको सकारात्मक पाटोका बारे आँखा चिम्लिएको भएपनि यस बारेमा टिप्पणी गरिरहँदा यसले उठाएको वस्तुगत तथ्यप्रति हाम्रो विमति छैन,” कांग्रेसले भनेको छ, “अर्थतन्त्रको आकार सानो रहेको वास्तविकता, निजी होस् वा सरकारी दुवै क्षेत्रमा पूँजी निर्माण गतिको सुस्तता, रोजगारीको अवसर पर्याप्त मात्रामा श्रृजना गर्न नसकेको स्थिति, कतिपय समयमा गैरबजेटरी खर्च बढेको–बढाइएको सन्दर्भ, राजश्व चुहावट अनुसन्धान र नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसकेको सत्यता, वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्न नसकेको स्थिती, भन्सार प्रणालीको पर्याप्त सुधार हुन नसकेको यथार्थ, अनि विकास बजेट सम्पूर्ण प्रयोग हुन नसकी फ्रिज हुँदै आएको तथ्य ।”
सरकारले निजि क्षेत्रलाई हतोत्साहित गर्न खोजेको आरेप लगाउँदै कांग्रेसले अनेकौ प्रतिकूल समयमा पनि मुलुकको अर्थतन्त्रलाई भरथेग गर्दै आएको नीजि क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ ।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थिंक ट्याङ्क’का नाममा प्रधानमन्त्री कार्यालयमा पार्टी कार्यकर्ता जम्मा गर्न थालेको आरोप लगाए । पत्रकार सममेलनमा उनले राजश्व र अनुसन्धान विभाग प्रधानमन्त्री मातहतमा तानेर आफू अनुकुलका मानिसहरु भर्ती गर्न लागेको आरोप लगाएका हुन् । महतले भने, “राजश्वलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइयो । पार्टी समर्थकहरुले राजश्व अनुसन्धान गर्न थालेपछि, अरु काम गर्न थालेपछि के हुन्छ ?”

 

प्रतिक्रिया दिनुहोस्