खानेपानी योजना सम्पन्न «

खानेपानी योजना सम्पन्न

महवीर खानेपानी आयोजना निर्माण भएपछि तेह्रथुमको छथर गाउँपालिका साविक ओख्रे–८ र सुदाप–२ स्थित बिखेका बासिन्दालाई पिउने पानीकै लागि घण्टौँ समय व्यतीत गर्नुपर्ने बाध्यता हटेको छ । घरघरमै खानेपानी आएपछि आसपासका सबै मुहान सुकेर खानेपानीका लागि सास्ती भोग्दै आएका स्थानीयवासी हर्षित भएका छन् ।
४ वर्षअघिदेखि निर्माण थालिएको खानेपानी योजना पर्याप्त बजेट अभावका कारण ढिलै भए पनि निर्माण सम्पन्न हुँदा बिखेवासी खुसी भएको महवीर खानेपानी आयोजनाका अध्यक्ष देशबहादुर खड्काले बताए । जिल्ला विकास समितिको क्रमागत बजेट र उपभोक्ताको श्रमदानसमेत गरी कुल ३० लाख बढी लगानीमा निर्माण गरिएको अध्यक्ष खड्काले बताए ।
खानेपानी योजनाले यहाँका ४२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “वर्षाका तीन महिनाबाहेक बाँकी ९ महिना पानी बोक्दैमा आधा दिन बित्थ्यो, अब पाइपमार्फत घरघरमा धारा जडान भएपछि त्यो समस्या हट्नेमा हामी ढुक्क छौं,” स्थानीय कमला खड्काले भनिन् । खानेपानी योजनाले घण्टौँ लगाएर पिठ्युँमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता हट्दा गाउँका महिला हर्षित भएका हुन् ।
खानेपानी योजनाले विशेषगरी गाउँका आफूजस्तै महिलालाई न्याय दिएको सुदाप–२ की सीता लम्जेलले बताइन् । त्यसै पनि पानीसँग महिलाले नै बढी खेल्नुपर्छ, उनले भनिन्, “घरमा खाना पकाउँदादेखि गाईवस्तु चौपाया र धोईपखाली गर्ने पनि हामी महिला नै हौँ, त्यसैले यो योजनाले हामीलाई न्याय दिएको छ ।” खानेपानी योजनाले आफूहरूलाई थप फुर्सिदिलो समेत बनाइदिएको उनले बताइन् ।
गाउँमा रहेका मुहान सुकेपछि स्थानीयवासीले झण्डै तीन किमि टाढाको महवीर खानेपानी मुहानबाट योजना सन्चालन गरी पाइपमार्फत वितरण गरेका हुन् । खानेपानी योजना सञ्चालनले गाउँलेको दैनिकी बदलेको स्थानीय गणेश खुलालले बताए ।
पानी नै नभएपछि केही नहुँदो रहेछ उनले भने, “अहिले घरैमा पानी आउन थालेपछि हाम्रो गाउँको दैनिकी बदलियो ।” पानी बोक्दै बिताउने समय अहिले खेतीपाती र व्यवसायमा लगाउन सजिलो भएको स्थानीय बताउँछन् । यहाँका बासिन्दाले सुक्खा र लेकाली क्षेत्र भएकाले विशेषगरी आलु, मकै र तोरीको व्यावसायिक खेती लगाउने गरेका छन् ।
तर सिँचाइ अभावले सिँचाइ नभई नहुने बालीनालीको खेती गर्न आफूहरूलाई समस्या भएको उनीहरूको गुनासो छ । सिँचाइका लागि पानी नभए पनि पिउनका लागि अब पानी अभाव नहुने भएकाले आफूहरूलाई सजिलो हुने स्थानीय शिक्षक केदार कटुवालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्