तमोर तरेर विद्यालय

आफ्नो विद्यालय उमेरमा गाउँनजिकै विद्यालय नहुँदा पाँचथर अमरपुरको पिनासीका ३५ वर्षीय गणेश माझीले उति धेरै पढ्न पाउनु भएन । आफूले नपढे पनि छोरा–छोरीलाई पढाउनुपर्छ भन्ने बुझेका माझीलाई त्यो पनि त्यति सजिलो चाँहि भएन । तमोरनजिकको आफ्नो गाउँमा विद्यालय नभएको र नजिकका विद्यालयमा पुग्नसमेत घण्टौँ लाग्ने भएपछि माझीले छोराछोरी पढाउनकै लागि बसाइँ सर्ने विचार गरे ।
तर दुई वर्षअघि तमोरमाथि झोलुंगे पुल बनेपछि त्यो समस्या हल भएको हो । अहिले उनका दुई छोरी र एक छोरो तमोरमाथिको सोही पुल तरेर दैनिक तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित अग्राखे प्रावि र प्रणामी उच्च माविमा पढ्न जान्छन् । गाउँमा विद्यालय छैन, नजिकमा पर्ने मझैटारको स्कुल पनि कक्षा–३ सम्ममात्र छ, माझीले भने, “बरु तमोर तरेर पारि जानै सजिलो हुने भएपछि त्यतै पढाउन थालेको हुँ । पिनासी गाउँबाट मझैटारको सो प्रावि स्कुल पुग्न पनि झण्डै अढाइ घण्टा लाग्छ ।”
तर त्यही समयमा तेह्रथुम साविक ईवा–२ को प्रणामी उच्च मावि पुगिने भएकाले आफ्ना नानीहरू त्यतै पढाइरहेको उनले बताए । पिनासी गाउँका यी बासिन्दालाई मावि तहको शिक्षा लिन कम्तीमा साढे तीन घण्टा हिँडेर जानुपर्छ ।
तमोर नदी किनारमा अवस्थित पिनासी गाउँ पाँचथरको अमरपुर गाविसको दुर्गम बस्ती हो । यो गाउँमा २ घर बानियाँ परिवार र बाँकी सबै माझी गरी जम्मा १५ घर बस्छन् । तमोर नदीमा पुल बनेपछि यो गाउँमा बालबालिकालाई विद्यालय जान सजिलो भएको छ । उनीहरू पाँचथरमा बसेर पनि तेह्रथुमका दुई विद्यालयमा पढ्न आउने गरेको साविक ईवा–२, तेह्रथुमको अग्राखे प्राविका प्रधानाध्यापक राजेन्द्र शिवाकोटीले बताए ।
अहिले सो गाउँबाट ८ जना विद्यार्थी तमोर तरेर तेह्रथुमका दुई विद्यालयमा भर्ना भएको स्थानीय श्यामकुमारी माझीले बताए । पिनासी घाटमा पुल बनेपछि पिनासीका बासिन्दालाई किनमेल, हाटबजार, अर्मपर्म र विद्यालय आउनजस्ता धेरै काममा सजिलो भएको उनले बताए ।
यहाँका माझी बस्ती शैक्षिक, आर्थिक र राजनीतिक दृष्टिकोणले निकै ओझेलमा छन् । दिनभर माछा मारेर साँझको छाक टार्ने यो समुदाय अहिले तमोरमा माछा पाउन छाडेपछि खेतीपाती र अन्य वैकल्पिक पेशामा लाग्न थालेका छन् ।
यो समुदायबाट यहाँका गाउँमा एक दुईजनाले मात्रै एसएलसी पास गरेका छन् । मावि तहमा पढ्दा–पढ्दै धेरै विद्यार्थी विद्यालय आउन छाड्ने गरेको प्रणामी उच्च मावि ईवाका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले बताए ।