गहुँ चुट्न नपाएपछि समस्या «

गहुँ चुट्न नपाएपछि समस्या

कञ्चनपुरका आरक्षपीडितलाई थ्रेसरबाट गहुँ चुट्न रोक लगाएपछि शनिबार राती आएको वर्षात्ले गहुँ भिजेको छ । चैत दोस्रो सातादेखि खेतबाट गहुँ काटेका आरक्षपीडितलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गहुँ चुट्न रोक लगाएपछि वर्षात्ले भिजेर नष्ट भएको हो ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले खेतबाट संकलन भएको अन्नबाली चुट्न रोक लगाएका कारण स्थानीयले अन्नबाली चुट्न नपाएको बताउँदै वर्षात्ले पूरै भिजेर नष्ट भएको बताए । “सरकारले हामीलाई काटेको बाली चुट्न दिएन्,” उनले भने, “समयमै काटेको बाली चुट्न नदिएपछि पुरै गहुँ भिज्यो ।” सरकारले नै आफूहरूलाई जबरजस्त संकटकालको मौकाछोपी हटाएको बताउँदै अध्यक्ष भण्डारीले पीडितको मर्मतमा मल्हम लगाउनुको साटो उल्टै पेटमा लात हानेको बताए । पीडितले गहुँ चुट्न व्यवस्था मिलाइदिनका लागि मन्त्री तथा सांसदलाई गुहार्दासमेत समस्या समाधान भएको छैन । वनमन्त्री शक्तिबहादुर बस्नेतले पीडितले लगाएको अन्नबाली चुट्न व्यवस्था मिलाइदिन निकुञ्ज विभागका महानिर्देशकलाई निर्देशन दिए पनि पीडितलाई रोक लगाइएकै छ । यस्तै खानेपानी मन्त्री, सांसद नरबहादुर धामी, प्रदेशसभा सदस्य महेशदत्त जोशी, लालबहादुर खडकाले समेत पीडितलाई गहुँबाली चुट्न दिने व्यवस्था मिलाइदिन पहल गरे पनि समस्या भने जस्ताको तेस्तै छ ।
“हामीलाई विस्थापित गर्दा सरकारले संकटकालको मौकाछोपी सेना, हात्ती लगाएर जबरजस्त उठाएको थियो,” आरक्षपीडित संघर्ष समितिका अध्यक्ष भण्डारीले भने, “आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रसमेत आइसक्दा पनि आफ्नो अन्नबाली चुट्दासमेत रोक्नु अमानवीय हो ।” नयाँ संविधानमा समेत हरेक मानिसको खाद्य अधिकारलाई मौलिक अधिकारका रूपमा राखे पनि आरक्षपीडितका लागि संविधान हर्ष न विष्मात जस्तै भएको उनको दुःखेसो छ । आरक्षपीडितले चुनावका बेला पीडितलाई नेताहरूले समेत भोटबैंक बनाएको आरोप लगाएका छन् । “चुनावका बेला तपाईंको समस्या समाधान गरिदिन्छौँ भन्थे, अध्यक्ष भण्डारीले भने, “चुनाव जितेपछि हाम्रा समस्या कसैले सुनिदिएन् ।” नयाँ संविधानमा समेत खाद्य हकलाई मौलिक हक र कर्तव्यमा राखे पनि कञ्चनपुरका आरक्षपीडितको उचित व्यवस्थापनको साटो राज्यले उल्टै उनीहरूको खाद्य अधिकारसमेत हनन् गरेको छ । पीडितलाई खाद्य अधिकारबाट सरकारी निकायबाटै वञ्चित गराउँदा समेत निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, अधिकारकर्मी मौन बसेका छन् ।

कञ्चनपुरमा सवा करोडका इँटा नष्ट
कञ्चनपुर, २५ चैत (कास): वर्षाका कारण कञ्चनपुरमा सवा करोड मूल्य बराबरका इँटा नष्ट भएका छन् । शनिबार ाती परेको वर्षाका कारण कञ्चनपुरका विभिन्न इँटा उद्योगका काचा इँटा झिजेर नष्ट भएका हुन् । महाकाली इँटा टायल उद्योग व्यवसायी संघले कञ्चनपुरमा रहेका ३९ इँटा तथा टायल उद्योगमा उत्पादन भएका काँचा इँटा नष्ट भएको जनाएको छ । महाकाली इँटा टायल उद्योग व्यवसायी संघले कञ्चनपुरका अध्यक्ष बलदेव सिंह बुडालले पकाउनका लागि फिल्डमा राखिएका काचा इँटा नष्ट भएका छन् । उनका अनुसार हरेक इँटा उद्योगमा ३ हजारदेखि ५ हजारसम्म इटा नष्ट भएका छन् । औषतमा एक लाख ५६ हजार इँटा नष्ट भएका छन् । “सुक्खायामको चैत महिनामा वर्षा भएपछि कञ्चनपुरका इँटा व्यवसायी मारमा परेका छन्,” अध्यक्ष बुडालले भने, “चैतमै यस्तो हुन्छ, भने वर्षात्मा झन के होला ।” इँटा व्यवसायीको पीडाबारे सम्बन्धित निकायले बुझ्नुपर्ने उनको भनाइ छ ।
महादेव अवस्थी

 

प्रतिक्रिया दिनुहोस्